
काठमाडौं, १४ कात्तिक — टोकियो प्रहरीले एक व्यक्तिको कूलरबाट क्षतविक्षत पारिएका धेरै लाशहरू फेला पारेपछि उसलाई पक्राउ गरेको छ । टोकियोको दक्षिणपश्चिमी भागमा रहेको एक अपार्टमेन्टमा क्षतविक्षत लाशहरू भेटिएका हुन् ।

ताकाहिरो शिराईशीले पीडितलाई हत्या गरेर निजको लाश काटकुट पारेर चिसो पार्ने भाँडोमा बिरालोको लादीले छोपेर राखेको बयान दिएको प्रहरीले मंगलवार बतायो । प्रमाण लुकाउनका लागि आफूले त्यसो गरेको शिराईशीले बताए ।
प्रहरीले आठ महिला र एक पुरुषको लाश अपार्टमेन्टमा लुकाइएको विश्वास गरेको एनएचकेलगायतका सञ्चारमाध्यमले जानकारी दिए ।
तेईस वर्षीया एक युवती गत हप्ता हराएपछि प्रहरीले खोजतलाश गर्ने क्रममा ती लाशहरू फेला पारेको प्रहरी प्रवक्ताले बताए । हराएकी महिला मृतकमध्येकी एक भएको विश्वास गरिएको छ ।
प्रहरीले औजार राख्ने एउटा भाँडो र आरा फेला पारेको बताएको छ । लाश चिर्न शायद उसले यसको प्रयोग गरेको प्रहरीको विश्वास छ ।
शिराईसीले प्रहरीलाई बयान दिँदै आफूले लाशहरू बाथरूममा टुक्रा पार्ने गरेको र केही अंगहरू चाहिँ फोहोर फाल्ने भाँडोमा राखेको बताए ।
उक्त व्यक्तिका छिमेकीहरूले अपार्टमेन्टनजिकबाट खराब गन्धहरू आएको बताएका थिए ।
एजेन्सी