
कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ९ वनदेवी टोल बस्ने माया विकका ५ वर्षीय छोरा अरुण रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बालक विक आइतवार राति उनकै घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेर घाइते भएका थिए । तत्कालै सेती प्रादेशिक अस्पताल लागिएकोमा उनको उपचारका क्रममा राति १ः ५० बजे मृत्यु भएको हो ।
त्यसैगरी आइतवार राति नै सर्पले टोकेर कैलालीकै गोदावरी नगपालिका– ६ लालपुरका अन्दाजी ३३ वर्षीय सागर विष्ट घाइते भएका छन् । विष्टलाई उनकै किराना पसलको आँगनमा आएको सर्पले दाहिने खुट्टामा टोकेर घाइते बनाएको थियो । उनकाे सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
उनलाई कुन सर्पले टोकेको हो भन्ने जानकारी नभएको र घाइते विष्टको अवस्था मध्यम रहेको जनाइएको छ । –रासस