
प्राचीन कालदेखि गुप्त तीर्थका रूपमा रहेको पोखरा महानगरपालिका–१५ स्थित अन्नपूर्णेश्वर शिवालय मन्दिरसहित धार्मिक पर्यटकीय स्थल ढुङ्गेसाँघुको प्रवर्द्धनको उद्देश्यका साथ कोटीहोम गरिने भएको छ ।
आगामी मङ्सिर १७ गतेदेखि २७ गतेसम्म कोटीहोम गर्न लागिएको मूल आयोजक समितिका संयोजक मदन गिरीले जानकारी दिए । यस क्षेत्रमा वस्ती विकास हुँदादेखि नै पूजाआजा हुँदै आएको प्राचीन शिला रहेको स्थानमा १८ लाख लागतमा मन्दिर निर्माण गरिएको र कोटीहोमकै क्रममा मन्दिरको उद्घाटनसँगै प्राण प्रतिष्ठालगायत कार्यहरू गरिने उनले बताए ।
उनका अनुसार उक्त अवसरमा लघु रुद्रीसहितको विराट धनधान्याञ्चल कोटी होम, कोटी द्वीप प्रज्वलन, पितृ उद्धार आदि गरिनेछ । तीन दशकपछि पोखरामा कोटी होम हुन लागेको बताउँदै उनले हाम्रा प्राचीन संस्कार र संस्कृतिको जगेर्नामा पोखरा–१५ स्थित गण्डकी रिभर साइड युवा क्लब सक्रिय भएको बताए ।
कोटीहोम शास्त्रसम्मत रुपमा नै गरिने जानकारी गराउँदै उनले हुने र सक्नेले सहयोग गर्ने र नसक्नेले निःशुल्क रूपमा सहभागी हुने बताए । कोटीहोमकै क्रममा निःशुल्क ब्रतबन्ध तथा धनको अभाव वा सन्तान नभएका ८४ वर्ष पुगेका वृद्धवृद्धाका लागि पूजा लगाउने व्यवस्था गरिने उनले जानकारी दिए ।
रिभर साइड युवा क्लबका अध्यक्ष नारायण भण्डारीले पुरानो धार्मिक इतिहासलाई जीवन्त पार्न कोटीहोमको आयोजना गर्न लागेको बताए।
प्राचीन कालमा शिलालाई पूजाआजा गर्दै आइएकोमा अहिले त्यही स्थानमा मन्दिर निर्माणको कार्य भइरहेको उनको भनाइ छ । यो तीर्थस्थल पितृ र देउतालाई पुज्ने एकै थलो भएकाले यसको महत्त्व छुट्टै भएको उनले बताए ।
अर्का स्थानीय अर्जुन ढकालले ढुङ्गेसाँघु प्राचीन महत्त्वको धार्मिक क्षेत्र भए पनि प्रचारप्रसारको अभावमा पछि परेको बताउँदै यसको महत्त्वलाई जीवन्त राख्न कोटीहोम गर्न लागिएको जानकारी दिए । यो क्षेत्रको तीन सय वर्षभन्दा बढी देखिको इतिहास रहेको छ । कोटीहोम महायज्ञमा प्रमुख बाचकको रूपमा जयश्री राधे गुरु तथा मन्दिर संरक्षक शोभाकान्त ढकाल रहनेछन् ।