
गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले नतिजा दिन थालेको बताएका छन् । धनगढी विमानस्थलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा एमालेको सरकारले जनताका माझ नतिजा दिने गरी काम गरिरहेको दाबी गरे ।
दुई दलको समीकरण राजनीतिक स्थिरताका लागि बनेको पनि उनले दोहोर्याए । ‘दुई दलबीच सौहार्दपूर्ण सम्बन्ध छ । कुनै विवाद छैन । सरकारले नतिजा पनि दिन थालिसकेको छ,’ उनले भने, ‘१८ वर्षदेखि रोकिएको शान्ति प्रक्रिया बाँकी कामहरूलाई अघि बढाएका छौं । अब छिट्टै सत्य निरूपण मेलमिलाप आयोग गठन हुन्छ ।’
स्थिरता र विकासका लागि दुई ठूला राजनीतिक दलहरू एक ठाउँमा आएको बताउँदै उनले इतिहासमा पनि दुई दलको मेलमिलापले थुप्रै उपलब्धि हासिल भएको बताए । ‘पछिल्लो डेढ वर्षको राजनीतिक अवस्था हेर्ने हो भने दुई/तीन महिनामै प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने, प्रदेशका सात वटै मुख्यमन्त्रीहरूले विश्वासको मत देखाउनु पर्ने र सरकार बन्न निकै अस्थिरताको माहोल थियो । त्यसलाई हामीले अन्त्य गरेका छौं,’ उनले भने, ‘सङ्घीय सरकारसहित अहिले प्रदेश सरकारले पनि स्थिरताका साथ काम गर्न पाएका छन् । अर्थतन्त्रमा पनि सुधार हुँदै आएको छ ।’
राजनीतिक अस्थिरताको अन्त्य, स्थिर सरकार निर्माण, अर्थतन्त्र चलायमान र भ्रष्टाचार नियन्त्रणलगायत विषयमा उपलब्धि हासिल भइसकेको बताउँदै उनले सबै दलसँग छलफल गरेर संविधान संशोधनको काम पनि अघि बढ्ने दाबी गरे ।