
पेरिस पारालिम्पिकस्अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली आज स्वदेश फर्कंदै छ ।
टोलीलाई त्रिभुवन अनन्तर्राराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपले पलेशासहित नेपाली टीमलाई नगर परिक्रमासहित भव्य स्वागत गर्ने कार्यक्रम राखेको छ।
राखेपका अनुसार टोली अहिले ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ ।
बिहान ८ः३० बजेबाट शुरू हुने र्याली एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चौक हुँदै राखेपको प्राङ्गणमा पुगेर टुंगिने छ ।
फ्रान्सको पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिमा प्रतिस्पर्धामा पलेशाले कास्य जितेकी थिइन् । यो नै नेपाली खेलाडीले ओलम्पिकमा जितेको पहिलो पदक हो ।
पारा तेक्वान्दो खेलाडी पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै कास्य पदक जितेकी हुन् । पलेशाले पारा एसियाली खेलकुदमा पनि कास्य जितेकी थिइन् ।