
दुई छोरीको हत्या आरोपमा आमा अस्मिता कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका दुई नाबालिकाकी आमालाई प्रहरीले बुधबार बिहान झापाको बिर्तामोडबाट नियन्त्रणमा लिएको हो ।
अस्वस्थ अवस्थामा भेटिएकी आमालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।
उनले प्रहरी समक्ष दुई छोरीलाई विष खुवाएर हत्या गरेको स्वीकार गरेकी छिन् । पहिला आफूले विष खाएको र पछाडि छोरीहरूलाई खुवाएको बयान दिएको एसपी कार्कीेले बताए ।
यसबारे थप अनुसन्धान भइरहेको उनले बताए । उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको छ ।
अस्मितालेसँगै लिएर गएको भनिएका दुई नाबालिका छोरी गत शनिबार दिउँसो मृत फेला परेका थिए ।
श्रीमान अर्जुन र अस्मिता सुन्दरहरैँचा–७ मा भाडाको घरमा बस्दै आएका थिए । श्रीमान अर्जुनसँग विवाद भएपछि अस्मिताले नाबालिक छोरीहरू १ वर्षीया आइका र ३ वर्षीया अर्पणालाई लिएर हिँडेकी थिइन् ।
निर्माणाधीन घरमा पानी लगाउने विषयमा अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको प्रहरीले जनाएको छ । ‘मोबाइल कम चलाउन, छोरीहरूलाई समयमै खाना खुवाउन र घरमा पानी लगाउन भनेर भनेका रहेछन्,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘यस्तै सामान्य विषयमा विवाद हुँदा उनी हिँडेकी रहिछिन् ।’
अस्मिताले श्रीमानलाई ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको प्रहरीले जनाएको छ । उनले प्रयोग गर्ने मोबाइल नाबालिकाको शवनजिकै फेला परेको थियो । अस्मिताले नै म्यासेज पठाएको हो कि होइन भनेर यकिन भने भई नसकेको प्रहरीको भनाइ छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमपछि दुवै नाबालिकाको शवको अन्त्येष्टि गरिसकिएको छ । दिदीले बहिनीलाई अँगालो हालेको र टाउकोमा सल ओढाएको अवस्थामा शव फेला परेको थियो ।