
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अब सहकारीमा कडाइका साथ नियमन हुने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १४औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री अधिकारीले सहकारीमा आएका समस्यालाई समाधानका लागि सरकार अहिले लागि परेको र अब प्रभावकारी नियमनका लागि पनि काम गरिरहेको बताएका हुन् ।
मन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या तत्कालै समाधान गर्न नसकिने भएपनि विस्तार सुधार हुँदै जाने बताए । ‘सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन हामीले नियामक निकाय स्थापना गर्ने कार्य अगाडि बढाएका छौं । यसका लागि कानुन बन्दैछ’ उनले भने, ‘यो निकाय कस्तो बनाउने भनेर ऐनको मस्यौदा मन्त्रिपरिषदमा लिँदैछौं,’ उनले भने ।
मन्त्री अधिकारीले सरकारको पक्षबाट यो क्षेत्रमा भएका समस्या हल गर्न प्रयास भइरहेको बताए ।
यस्तै, कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारी क्षेत्रमा अहिले सबै मिलेर विश्वास बढाउनु पर्ने बताए । सहकारीका विषयगत संघ÷संस्थालाई सक्रिय बनाउनुपर्ने उनको भनाइ छ ।