१२ असार २०८३, शुक्रबार

थाइल्याण्ड, लाओस र म्यानमारमा अनलाइन जुवा खेलाउन मानव तस्करी, ९ जनाको उद्धार

भदौ २१, २०८१
काठमाडौं
थाइल्याण्ड, लाओस र म्यानमारमा अनलाइन जुवा खेलाउन मानव तस्करी, ९ जनाको उद्धार

मानव तस्करको गिरोहले अनलाइन जुवा खेलाउनका लागि नेपालीहरूलाई नेपालबाट थाइल्याण्ड, लाओस र म्यानमार पुर्‍याउँदै आएको पाइएको छ ।

जनही १० देखि १५ लाख रुपैयाँ लिएर गिरोहले यी मुलुकहरूमा पुर्‍याएर अनलाइन जुवा खेलाउँदै आएको पाइएको थाइल्याण्डस्थित नेपाली राजदूत धनबहादुर वलीले बताए ।

उनका अनुसार शुक्रबार मात्रै ९ जना नेपालीलाई लाओसबाट उद्धार गरी नेपाल पठाइएको छ । उनीहरूलाई अनलाइन जुवा खेलाउने अन्तर्राष्ट्रिय गिरोहले योजनाबद्ध ढंगबाट लाओस पुर्‍याएको थियो ।​

दूतावास र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको संयुक्त पहलमा उनीहरूलाई उद्धार गरी नेपाल पठाइएको वलीले जानकारी दिए ।

‘यसरी अनलाइन जुवा खेलाउने गिरोहले नेपाल र भारतमा बसेर नेपालीहरूलाई धेरै तलब हुने प्रलोभन देखाएर म्यानमार, लाओस र थाइल्याण्ड लैजाने गरेको देखियो,’ वलीले लोकान्तरसँग भने, ‘यो स्थिति भयावह छ, धेरै मुलुकबाट यसरी ल्याएर जुवा खेलाउन बाध्य पार्ने र नखेले कुटपिट एवं दुर्व्यवहार गर्ने गरेको पाइयो ।’​

राजदूत वलीका अनुसार आईटी पढेका र अनलाइन जुवा खेलाउनुपर्ने जान्दाजान्दै पनि नेपालीहरू थाइल्याण्ड, लाओस र म्यानमार आउने गरेको देखिन्छ । 

यसअघि साउनमा मात्रै दूतावासले दुई जना नेपालीलाई सिंगापुर विमानस्थलबाट उद्धार गरी नेपाल पठाएको थियो ।

लामो समय यूएई दुबईमा राम्रो काम र आर्जन गरी बसेका ती २ जना नेपालीले अमेरिका जाने चाहनामा दलाललाई  ३५ देखि ४५ लाख रुपैयाँ अग्रिम भुक्तानी दिएका थिए ।​​

बिचौलियाले दुबईबाट सिंगापुर सिंगापुर हुँदै चीनको वेईजिङ पुर्‍याएको खुलेको थियो ।

‘नक्कली राहदानी बोकी ती २ नेपाली वेईजिङ पुगे, तर वेईजिङ अध्यागमनमा समातिए । सोधपुछ पछि उनीहरूलाई सिङ्गापुर फर्काइएको थियो,’ वलीले भने, ‘सिंगापुर प्रशासनले हामीलाई सम्पर्क कागजात प्रमाणीकरण गर्न अनुरोध गर्‍यो । नागरिकता र राहदानीको प्रमाणले नेपाली नै भएको प्रमाणित भएको थियो ।’

salt training

कमेन्ट गर्नुहोस्