
संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे बनेका छानबिन समितिले औंल्याएका सवालबारे अध्ययन गर्न उच्च स्तरीय छानबिन समिति बनाउनु पर्ने आवश्यकता रहेको बताएका छन् ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवंगत भएकाहरूको सम्झना तथा ४५ औं दिनको पुण्य तिथिको सन्दर्भमा आइतवार राजधानीमा आयोजित श्रद्धाञ्जली सभा तथा नेपालमा हवाई सुरक्षा विषयक अन्तरक्रिया बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।
मन्त्री पाण्डेले भने, 'हवाई दुर्घटनाबारे विगतमा थुप्रै अलगअलग अध्ययन र अनुसन्धान भएका छन् । तिनीहरूलाई कम्पायल गरेर, एकीकृत गरेर एक ठाउँमा राख्नु पर्ने छ ।' उनले अगाडि भने, 'नागरिक उड्डयनको क्षेत्रलाई सुरक्षित पार्नका लागि न्यायिक क्षेत्रको व्यक्तिको संयोजकत्वमा उच्च स्तरीय छानबिन समिति बनाउने छौं । त्यस समितिले अध्ययन गरेका कुरालाई सरकारले समेत शिरोधार्य गर्ने छ।'
उनले सौर्य एयरलाइन्सको दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन प्राप्त भइसकेको उल्लेख गर्दै प्रतिवेदन सत्य,तथ्य नजिक पुगेको बताए ।