२१ जेठ २०८३, बिहीबार

गाउँपालिकाद्वारा झोलुङ्गे पुल पुनर्निर्माण

भदौ २५, २०८१
सिन्धुपाल्चोक
गाउँपालिकाद्वारा झोलुङ्गे पुल पुनर्निर्माण

​​सिन्धुपाल्चोक​को लार्के र इन्द्रावती नदीमा गत असार ३० मा आएको भीषण बाढीले पूर्णरुपमा क्षति पुर्‍याएको झोलुङ्गे पुल पुनःनिर्माण गरिएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङ र वडा नम्बर २ याङ्ग्री जोड्ने झोलुङ्गे पुल गत असार ३० गते इन्द्रावती नदीमा आएको बाढीले क्षति पुर्‍याएको थियो । बाढीले गाउँपालिकाको तीन वटा झोलुङ्गे पुलमा क्षति पुगेको थियो । 

बाढीले क्षति पुर्‍याएको पुलमध्ये गाउँपालिकाकै स्रोतबाट चिण्डे र याङग्रीको पुल पुनःनिमार्ण भइसकेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए ।

बाढीले क्षति पुर्‍याएको माकालमा भने मोटरेबल पुल निर्माण गर्न बोलपत्र आह्वान गर्ने तयारी गरिएको अध्यक्ष लामाले बताए ।

वडा नम्बर २ को याङ्ग्री, सुनचौर, डाले, ब्राथोर, रिपार लगायतका स्थानीय हिँड्नका लागि प्रयोग हुने एकमात्र झोलुङ्गे पुलमा क्षति पुगेपछि समस्या भएको स्थानीय केशाङ तामाङले बताए ।

तामाङका अनुसार विद्यार्थी, स्थानीय र धार्मिक स्थल आमायाङ्ग्री जाने पर्यटकलाई समस्या भएको थियो । 

पुलमा क्षति पुगेपछि सङ्घ र प्रदेश सरकारलाई पटक-पटक आग्रह गरेपनि सुनुवाइ नभएको गाउँपालिका अध्यक्ष लामाले बताए ।

कतैबाट सुनुवाइ नभए पछि गाउँपालिकाकै स्रोत र साधनबाट पुल पुनः निर्माणको प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।

सो पुलमा विक्रम संवत् २०७८ असार १ गतेको बाढीले समेत क्षति पुर्‍याएको थियो । तत्कालीन अवस्थामा गाउँपालिकाले बजेट विनियोजन गरी पुल निर्माण गरिएको थियो । त्यसको तीन वर्ष नबित्दै पुनः बाढीले क्षति पुर्‍याएको हो ।

एक सय ६२ मिटर लामो पुल रु ३४ लाख लागतमा पुनःनिर्माण गरिएको छ ।

त्यस्तै वडा नं १ र ६ जोड्ने चिण्डे ६५ मिटर लामो पुल रु १३ लाखमा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्