२२ असार २०८३, सोमबार
सहकारी ठगी प्रकरण

जीबीबारे मलेसियन सरकारलाई कूटनीतिक नोट, विमानस्थलदेखि सबै जिल्लामा सर्कुलर

भदौ २५, २०८१
काठमाडौं
जीबीबारे मलेसियन सरकारलाई कूटनीतिक नोट, विमानस्थलदेखि सबै जिल्लामा सर्कुलर
सहकारी ठगीमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीको भवन र रातो घेरामा जीबी राई

गोर्खा मिडिया नेटवर्कका सञ्चालक गितेन्द्रबाबु (जीबी) राई र उनको समूहले आधा दर्जन सहकारीका हजारौं बचतकर्ताको ७ अर्बभन्दा बढी रकम हिनामिना गरेको पुष्टि भइसक्दा पनि अभियुक्तहरू नियन्त्रणमा आउन सकेका छैनन् ।

प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरिसकेको छ । तर, अधिकांश अभियुक्त अनुसन्धानको सिलसिलामै फरार भएपछि प्रहरीलाई अहिले यो मुद्दा पेचिलो बनेको छ । 

पर्साको सानोपाइला, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, कास्कीको सूर्यदर्शन, रूपन्देहीको सुप्रिम र बाँकेको समानता बचत तथा ऋण सहकारीबाट राईको समूहले रकम हिनामिना गरेको उजुरी प्रहरीमा परेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरास्थित सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना अभियोगमा जीबीसहित १९ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ ।

यो मुद्दामा सूर्यदर्शनका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल मात्रै पक्राउ परेका छन्, बाँकी १७ अभियुक्त फरार नै छन् ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाका अनुसार सूर्यदर्शनका पूर्वअध्यक्ष जीबी राई, भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङविरुद्ध इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी भइसकेको छ । 

प्रहरी मुख्यालयका अनुसार ६ वटै सहकारीको रकम हिनामिनामा मुख्य अभियुक्त जीबी राई नै हुन् । 

जीबी अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्कअन्तर्गत सञ्चालित ग्यालेक्सी टेलिभिजनका पूर्वसाझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका छन् ।

लामिछानेले संसदीय छानबिन विशेष समितिमा बयान समेत दिइसकेका छन् । उनले आफूमाथिका आरोप जीबीतर्फ नै तेर्स्याएका छन् । 

ग्यालेक्सी टीभी सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कमा १० करोड रुपैयाँ सहकारीबाट गएको र तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेमाथि अनुसन्धान भइरहेको हो । 

३ अर्ब रुपैयाँभन्दा बढी निक्षेप भएको काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीका सञ्चालक र आर्थिक खटनपटनमा सामेल कर्मचारी फरार छन् । 

त्यहाँबाट पनि जीबीको समूहले २ अर्ब बढी हिनामिना गरेको आरोप छ । 

जीबी राईकै समूहले नेपालगञ्जमा खोलेको समानता सहकारीको रकम फिर्ता नगरेपछि बचतकर्ता बिचल्लीमा परेका छन् ।

३० बचतकर्ताले सहकारीमा जम्मा भएको रकम फिर्ता नपाएको भन्दै उजुरी दिएपछि प्रहरीले अदालतबाट जीबीसहित ९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । 

कहाँ छन् जीबी ? 

प्रहरीको पछिल्लो सूचनाअनुसार जीबी मलेसियामै छन् । उनी क्वालालम्पुरको देशापन्डनमा अपार्टमेन्ट लिएर बसेका छन् । उनले मार्ट समेत सञ्चालन गरेको सूचना प्रहरीलाई छ ।

प्रहरी प्रधान कार्यालयले एसपीको कमान्डमा दुई प्रहरीलाई जीबी राई खोज्न मलेसिया पठाएको थियो । तर, मलेसियन सरकारले सुपुर्दगी सन्धि नभएका कारण जीबीलाई बुझाउन मानेन । 

डिफ्युजन नोटिस जारी भएका जीबीका सन्दर्भमा मलेसियास्थित इन्टरपोलले थप कागजात मागेपछि प्रहरी मुख्यालयले पठाएको छ । 

कास्की प्रहरीले जीबी फेला परेमा पक्राउ गरेर बुझाइ सहयोग गर्न भन्दै ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखेको छ । 

परराष्ट्र मन्त्रालयमार्फत मलेसियन सरकारलाई कूटनीतिक नोट र जीबीको राहदानी रद्द गर्न राहदानी विभागलाई पत्र समेत पठाइएको छ । यति हुँदा पनि जीबी भने अझै नियन्त्रणमा आउन सकेका छैनन् ।

एक उच्च प्रहरी अधिकृतका अनुसार जीबी मलेसियामै छन् । 

‘जीबी भारत हुँदै सडक मार्ग भएर नेपाल छिरे पनि उनको सुराकीका लागि संयन्त्र परिचालित छ,’ मुख्यालय स्रोतले भन्यो, ‘नेपाल प्रवेश गर्ने सीमा क्षेत्रमा समेत संयन्त्र परिचालित भएकाले नेपाल छिरेर लुक्ने वा भाग्ने सम्भावना कमै छ ।’ 

गृह मन्त्रालयले प्रहरी संयन्त्रसँगै गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई समेत अलर्ट रहन निर्देशन दिएको छ । विभागका एक अधिकारीले लोकान्तरसँग भने, ‘अहिलेसम्म जीबी नेपाल प्रवेश गरेको सूचना हामीलाई आएको छैन । विमानस्थलदेखि जिल्लाका सीमा क्षेत्रमा समेत हाम्रो संयन्त्र प्रहरीसँग समन्वय गरी तैनाथी अवस्थामा छ ।’

प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले जीबीलाई पक्राउ गरी सहयोग गरिदिन इन्टरपोलमार्फत पत्राचार गरिएको बताए ।

उनले भने, ‘अहिलेसम्मको सूचनामा जीबी मलेसियामै छन् भन्ने हो । हामीले इन्टरपोलमा पत्राचार गरेका छौं । परराष्ट्रमार्फत पनि कूटनीतिक नोट पठाइएको छ ।’

जीबीले भागेर वा लुकेरभन्दा पनि गिरफ्तारी दिएर अनुसन्धानमा सहयोग गर्दा राम्रो हुने उनले बताए ।

‘भागेर कति दिन भाग्ने, लुकेर कति दिन लुक्ने, उनी र उनको समूहमाथि ७ अर्ब रुपैयाँभन्दा बढी सहकारीको रकम हिनामिना गरेको अभियोग छ,’ डीआईजी कार्कीले लोकान्तरसँग भने, ‘प्रहरीले जसरी पनि जीबीलाई कानूनी दायरमा ल्याउँछ । उनले कारबाही भोग्नुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्