
कुमारी बैंक लिमिटेडले सबै प्रदेशमा वित्तीय साक्षरता प्रवर्द्धनका लागि प्रशिक्षक प्रशिक्षण सम्पन्न गरेको छ ।
यूसएडसँगको सहकार्यमा 'देशैभरि, वर्षैभरि' अभियानकैरूपमा वित्तीय साक्षरता प्रवर्द्धन गरी विभिन्न स्थानमा रहेका व्यावसायिक एवं उद्यमशील सोचहरूलाई औपचारिक वित्तीय संयन्त्रमा आकर्षित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।
वित्तीय ज्ञान, सीप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरूपमा वित्तीय साक्षरता प्रवर्द्धन हुने विश्वास बैंकको छ ।
अभियानमा सर्वसाधारणको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारहरूको अभिनयसहितका सन्देशमूलक भिडियो, सचेतनामूलक सन्देश विकास गरी नियमितरूपमा प्रकाशन तथा प्रशारणसमेत गरिरहेको छ ।
स्थानीय स्तरमा प्रशिक्षक प्रशिक्षणले आगामी दिनमा समुदायमा आधारित वित्तीय साक्षरता सामग्री विकास गरी समाजमा रहेका व्यावसायिक एवं उद्यमशील सम्भावनाहरूलाई प्रवर्द्धन गर्दै उद्यमशीलता विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारीले अनवरतरूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आएको छ ।
यसका साथै बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग इकाइमार्फत अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।
आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता बैंकको छ ।