
भारतको भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल र भारतबीच थप हवाई प्रवेश मार्गबारे भारतीय समकक्षीसँग छलफल गरेका छन् ।
भारतको नयाँ दिल्लीमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय दोस्रो सम्मेलनको साइडलाइन भेटघाटका क्रममा आज पर्यटनमन्त्री पाण्डेले भारतका नागरिक उड्डयनमन्त्री राममोहन नाइडु किन्जारापुसँगको भेटमा थप हवाई प्रवेश बिन्दु तथा दुई देशका विभिन्न सहरबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल गरेका हुन् ।
भेटका क्रममा पर्यटनमन्त्री पाण्डेले नेपालमा हाल थप सञ्चालनमा आएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चलनमा रहेकाले भारतको बढ्दो गतिमा अघि बढेको नागरिक उड्डयन क्षेत्रले भारतका विभिन्न सहरबाट नेपाली सहरमा थप सिधा उडान गर्न आग्रह गरे । साथै उनले अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक संयन्त्र परिचालन गर्न भारतीय पक्षसँग आग्रह गरे ।
पर्यटनमन्त्री पाण्डेले पोखरा नेपालको पर्यटकीय राजधानीका रुपमा विकसित भइरहेको र विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गरेपछि अहिले ठूलो सङ्ख्यामा भारतीय धार्मिक पर्यटकले मुक्तिनाथको दर्शन गर्न जानेक्रम बढिरहेको स्मरण गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न सहरबाट सिधा उडान भर्न भारतीय उड्डयन कम्पनीहरुलाई प्रोत्साहित गनुपर्ने विषयमा जोड दिए ।