
काठमाडौंको दक्षिणकाली नगरपालिका खाडी राष्ट्र कतारमा तरकारी निर्यात गर्ने पहिलो बन्न पुगेको छ ।
स्थानीय किसान प्रकाश बलामीका अनुसार बिहीबार २० जना किसानको रैथाने कृषि उपज कतारतर्फ पठाइएको हो । टाटेसिमी र अकबरे खुर्सानी कतार पठाइएको उनले बताए । 'यसरी बाहिर पठाउँदा स्थानीय बजारमा पठाएभन्दा बढी मेहनत र खर्च लागे पनि राम्रो भाउ पाइन्छ,' किसान बलामीको भनाइ छ ।
नगरपालिकाको वडा नं ९ स्थित आफ्नै १३ रोपनी र भाडामा लिएको सात रोपनी गरी २० रोपनी जमिनमा कृषिकर्म गरिरहेका बलामीले जग्गाको अधिकांश भागमा टाटेसिमी नै लगाएका छन् । 'गाईवस्तुको मल हाल्दा धेरै र लामो समयसम्म फल्दोरहेछ,' बलामीको अनुभव छ ।
साउनबाट फल्न शुरू गर्ने टाटेसिमी कडा तुषारोले नभेटेमा माघसम्म नै फलिरहने उनको भनाइ छ ।
कृषिमा निर्यात गर्दै आएका संस्थाहरूले टाटेसिमीको निर्यात सम्भावना देखेपछि दक्षिणकालीका किसानलाई सो बाली लगाउन प्रोत्साहन गरेका थिए । प्रायः काउली र काँक्रो लगाइरहेका किसानले पनि दुवै बालीमा रोग कीरा बढ्न थालेपछि वैकल्पिक बाली खोजिरहेका थिए ।
यस्तैमा ललितपुरस्थित कृषि विकास कार्यालयले किसान समूहलाई तीन लाख अनुदान दिएको जानकारी पनि उनले दिए । तरकारी निर्यातका लागि भने एक एग्रोजस्ता संस्थाले किसानलाई सघाउँदै आएका छन् ।
कोरोनाकालमा ‘लकडाउन’का कारण लाखौँका लप्सी खेर गएको पनि उनले बताए ।
अर्का किसान गीता बलामी महिलामध्ये ठूलो परिमाणमा खेती गर्नेमा पर्छिन् । आफू १७ वर्षको हुँदा कारितास नेपालले दिएको अग्र्यानिक खेतीसम्बन्धी तालिमबाट कृषिकर्ममा प्रवेश गरेकी उनले बिहीबार झण्डै तीन सय केजी टाटेसिमी निर्यातका लागि पठाइन् ।
वर्षायामभरि टाटेसिमी र खुर्सानीको खेती र हिँउदभरि लप्सीको क्याण्डी बनाएर बेच्ने उनी पनि लप्सी निर्यात गर्नसके फर्पिङका किसानले थप फाइदा पाउने बताउँछन् ।
नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले कृषिबाटै नगरपालिकाले समृद्धि हासिल गर्न सक्छ भन्ने मनन् गरी विदेश निर्यात हुनेगरी उत्पादन गर्न किसानलाई प्रोत्साहन गरिएको बताए ।
दक्षिणकाली नगरपालिकाकी कृषि शाखा प्रमुख पविता राईका अनुसार नगरपालिकाका विभिन्न स्थानमा गरी करिब ३२ रोपनी जमिनमा अर्को महत्त्वपूर्ण नगदेबालीका रूपमा जिम्बुको खेती हुन्छ । जिम्बु दाल, तरकारी अचार आदिमा विशेष स्वाद कायम गर्न प्रयोग हुन्छ ।
विगतमा हिमाली क्षेत्रमात्र स्रोत रहेका जिम्बुलाई हिमाली क्षेत्र मुस्ताङबाट ल्याइएका बीउले अहिले फर्पिङभरि फैलिएका छन् । नगरपालिकाका करिब ६५ घरका किसानले जिम्बुखेती गरेका छन् ।
हरेक घरले प्रतिमहिना दुईदेखि तीन क्विन्टल जिम्बु बेच्छन् ।
जिम्बुलगायतका खेतका आली र डिलमा फूल र फलफूलको खेती गरेर थप आम्दानी गर्न समेत किसान हौसिएका छन् ।
नगरप्रमुख बस्नेतका अनुसार नगरपालिकाले कृषिलाई आफ्नो प्रमुख उत्पादन मानेको छ । कृषिमा पनि परम्परागत निर्वाहमुखी बालीलाई भन्दा निर्यातको सम्भावना रहेका तरकारी, फलफूल र लप्सीजस्ता उत्पादन विगत चार दशकयता हुँदै आएको छ । ‘फर्पिङको नासपाती’ परम्परागत प्रसिद्ध ब्राण्ड हो ।