
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारले लगानी बोर्डको सीईओमा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
बोर्डको सीईओ पदका लागि आवेदन दिएकामध्ये ज्ञवालीसहित भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादवको नाम सर्ट लिस्टमा परेको थियो । जसमध्येबाट ज्ञवालीलाई सरकारले नियुक्त गरेको हो ।
यस्तै बैठकले धरहरा असोज ३ देखि खोल्ने, सचिव तथा सहसचिवहरुको सरुवा गर्नेलगायतका निर्णय पनि गरेको छ ।
००००
संसदीय सुनुवाइ समितिले बिहीबार संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य, स्पेन र श्रीलङ्काका लागि प्रस्तावित नेपाली राजदूतको सुनुवाइ गरेको छ ।
समितिले प्रस्तावित राजदूत क्रमशः लोकदर्शन रेग्मी, चन्द्रकुमार घिमिरे, सनिल नेपाल र रामकृष्ण भट्टराईको संसदीय सुनुवाइ गरेको हो । गत साउन १४ गतेको मन्त्रिपरिषद्ले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो । उनीहरु सबैको संसदीय सुनुवाइ सकिएको छ । उनीहरुको नियुक्तिबारेको निर्णय अब शुक्रबार हुनेछ ।
००००
लागुऔषध बिक्री–वितरण गरेको कसूरमा दिया फार्मेसीका सञ्चालक डा ढाकाकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसदसमेत रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीवार नियन्त्रणमा लिएको हो ।
००००
कल सेन्टरको आवरणमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा नेपाल प्रहरीले तीन विदेशी नागरिकसहित आठ जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधवार साँझ ५० जनालाई नियन्त्रणमा लिएको थियो । स्क्रिनिङका क्रममा आठ जनाको प्रत्यक्ष संलग्नता भेटिएपछि उनीहरूविरुद्ध प्रहरीले अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको हो ।
००००
भारतको भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल र भारतबीच थप हवाई प्रवेश मार्गबारे भारतीय समकक्षीसँग छलफल गरेका छन् ।
भारतको नयाँ दिल्लीमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय दोस्रो सम्मेलनको साइडलाइन भेटघाटका क्रममा बिहीबार पर्यटनमन्त्री पाण्डेले भारतका नागरिक उड्डयनमन्त्री राममोहन नाइडु किन्जारापुसँगको भेटमा थप हवाई प्रवेश बिन्दु तथा दुई देशका विभिन्न सहरबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल गरेका हुन् ।
००००
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता सहकार्यले कांग्रेसलाई आगामी दिनमा अझ बलियो बनाउन मद्दत पुग्ने दाबी गरेका छन् ।
नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको आयोजनामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले नेतृत्व गरेका २१ स्थानीय तहलाई बिहीबार आयोजित सम्मान कार्यक्रममा सभापति देउवाले कांग्रेसले सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख सरोज भट्टराईसमेत २ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणअन्तर्गतको कसुरमा मुद्दा दायर गरेको छ ।
अख्तियारले पहिलोपटक सम्पत्ति शुद्धीकरण अन्तर्गतको कसुरमा मुद्दा दायर गरेको हो ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । ओलीले कामको गति बढाउन र योजनाबद्ध काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीवार मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवस्थित र गति दिने उद्देश्यसहित काम गर्न निर्देशन दिए ।
००००
संवैधानिक परिषद्ले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी नियुक्तिका लागि सिफारिश गर्छ ।
तर, सत्ता समीकरण फेरबदल भइरहने नेपालमा यो परिषद् सधैं बहुमत र अल्पमतको गणितले अलमलमा पर्दै आएको छ ।
६५ वर्षे उमेरहदका कारण आगामी असोज १८ देखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाशमा जाँदैछन् । संविधानतः अवकाशमा जानुभन्दा एक महिनाअगाडि नै अर्को प्रधानन्यायाधीशको नाम सिफारिश हुनुपर्ने हो । तर, पछिल्लो सत्ता समीकरणमा विपक्षीको बहुमत भएपछि सरकारले सिफारिशका लागि संवैधानिक परिषद्को बैठक नै राख्न सकेको छैन ।
बुधबार साँझ बस्नेगरी प्रधानमन्त्रीले परिषद्को बैठक बोलाएका थिए । तर, स्थगित गरी शुक्रबारलाई सारिएको छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान तीन नेताबीच भेटवार्ता भएको हो । भेटमा संवैधानिक नियुक्तिलगायतका विषयमा छलफल भएको थियो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानालाई हटाउन खोजिए प्रतिकार गर्ने चेतावनी दिएको छ ।
केन्द्रीय कार्यालय वनस्थलीमा बिहीवार पत्रकार सम्मेलन गर्दै रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले यस्तो चेतावनी दिएका हुन् ।
०००
यसअघि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीवार भने दोहोरो अङ्कले बढेर बन्द भएको छ । साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक ७८.१७ अङ्कले बढेर २६८८.३८ को बिन्दुमा बन्द भएको हो ।
यसदिन बजारमा १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयरको खरिद–बिक्री हुँदा ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ ।
००००
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले हवाई यात्रुहरूको बिदाइमा खादा तथा माला नल्याउन आग्रह गरेको छ ।
यात्रुले विमानस्थलस्थित आन्तरिक तथा वाह्य टर्मिनल भवन प्रवेश गर्दा बिदाइ स्वरूप साथमा लगाई आउने वा ब्यागमा झुन्ड्याई बाँधी ल्याइने खादाकै कारण विमानस्थलको सुरक्षा उपकरणमा गम्भीर क्षति पुगेको भन्दै ती सामग्री निषेध गरेको हो ।