
ट्याक्सी चालकहरूको आन्दोलनका कारण राजधानीको सवारी आवागमन अस्तव्यस्त बनेको छ । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ट्याक्सी चालकहरूको आन्दोलनले शुक्रबार काठमाडौंको कोटेश्वर-जडिबुटी सडक खण्ड अस्तव्यस्त बनेको हो ।
कोटेश्वरदेखि जडिबुटी सडक खण्ड केही बेर मात्रै ठप्प भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी विश्वराज खड्काले जानकारी दिए ।
प्रवक्ता खड्काले भने, ‘कोटेश्वरमा एकै छिन पूर्णरूपमा जस्तै जाम भयो । अहिले सवारीको जाम खुलिसकेको जानकारी आएको छ ।’

ट्याक्सी व्यवसायीहरूले राइड शेयरिङ प्लेटफर्म र रातो नम्बर प्लेटका सवारीलाई यात्रु बोक्न प्रतिबन्ध लगाउनुपर्ने मागसहित प्रदर्शन गरेका हुन् । जसको नेतृत्व दुर्गा प्रसाईं समूहले गरेको ट्याक्सी सञ्चालकहरूले बताएका छन् ।
तर यता नेपाल मिटर ट्याक्सी व्यवसायी संघले भने उक्त प्रदर्शनमा आफ्नो संलग्नता नरहेको बताएको छ । ट्याक्सी व्यवसायीहरूले नभएर व्यक्तिगत स्वार्थ समूहले उक्त प्रदर्शन गरेको संघको दाबी छ ।
नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतमले आजको प्रदर्शनको आफूसँग कुनै पनि कनेक्शन नभएको बताए ।
अध्यक्ष गौतमले भने, ‘अहिले भइरहेको ट्याक्सी प्रदर्शनमा हाम्रो कुनै पनि संलग्नता छैन । हामी कुनै पनि राजनीतिक दलप्रति आस्था अथवा झुकाव राख्दैनौं । व्यावसायिक संस्था हो । हामी यस्तो गर्दैनौं ।’




