१० साउन २०८३, आइतबार

कर्मचारीको बद्मासीले सहकारीमा समस्या: अध्यक्षको दाबी– लेखापालले झण्डै दुई करोड घोटाला गरे

भदौ २९, २०८१
काठमाडौं
कर्मचारीको बद्मासीले सहकारीमा समस्या: अध्यक्षको दाबी– लेखापालले झण्डै दुई करोड घोटाला गरे

मोरङको धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारका हसन अन्सारीले घर बनाउन भनेर विदेशमा कमाएको पैसा सहकारीमा जम्मा गरेका थिए । १० वर्ष मलेसिया बसेर कमाएको १० लाख रुपैयाँ उनले नमूना सहकारी संस्थामा राखेका थिए । सहकारीमा आफ्नो १४–१५ लाख रुपैयाँ बचत रहेको उनले बताए । तर, घर बनाउन खोज्दा उनले रकम फिर्ता पाएनन् । सहकारीले बचत गरेको रकम नदिँदा घर बनाउन नपाएको उनको दुखेसो छ । 

सोही ठाउँका प्रवीणकुमार चौधरीले पनि औषधि पसल र क्लिनिक चलाएर बचेको पैसा त्यही सहकारीमा राखेका थिए । उनले पनि आफूले सहकारीमा १० लाख बढी बचत गरेको बताए । तर, चाहिएका बेला रकम माग्दा फिर्ता आउँदैन । 

अन्सारी र चौधरीजस्तै सहकारीमा बचत गरेका दर्जनौँ सर्वसाधारणको पैसा अहिले जोखिममा परेको छ । ३१ जना पीडितले त गत भदौ १३ गते जिल्ला प्रशासन कार्यालय मोरङमा रकम फिर्ताको माग गर्दै उजुरी दर्ता गराएका छन् । उजुरीमाथि छलफल हुँदा सहकारीका अध्यक्ष गुलावचन्द मण्डलले ५ महिनाभित्र सबै रकम चुक्ता गर्ने प्रतिबद्धता जनाएका छन् ।

सहकारीमा समस्या कसरी आयो ?
सहकारीले पहिला सेलर मिल चलाएको थियो । धान तथा चामल खरिद बिक्रीसमेत गर्ने गरिन्थ्यो । प्रतिकिलो ६० रुपैयाँमा धान किन्ने सहकारीले चामल भने ४४ रुपैयाँमा बेच्थ्यो । यसरी बेच्दा पनि कर्मचारीले नाफा देखाउँथे । 

महँगोमा धान किनेर सस्तोमा चामल बेच्दासमेत नाफा देखाएपछि सञ्चालक समितिले अडिट गराएको थियो । अडिट गराउँदा कर्मचारीले बद्मासी गरेको खुलेको अध्यक्ष मण्डलले बताए । कर्मचारीकै बदमासीका कारण सहकारीमा समस्या आएको उनले बताए । 

सहकारीका लेखापाल सविलाल राजवंशी र सहलेखापाल राजकुमार राजवंशीको बदमासी गरेकाले समस्या भएको उनको दाबी छ । उनीअरू दुवैले करिब दुई करोड घोटाला गरेको उनको दाबी छ । 

लेखापाल सविलालले १ करोड ११ लाख र सह लेखापाल राजकुमारले ८२ लाख घोटाला गरेको आन्तरिक छानबिनबाट खुलेको उनको भनाइ छ । 

सहकारीमा ५०५ जना शेयर सदस्य छन् । बचत रकम ४ करोड र सेयर पुँजी ५ लाख ५ हजार रुपैयाँ रहेको अध्यक्ष मण्डल बताउँछन् । सहकारीको जग्गा जमिन १५ कट्टा जति छ । जग्गा बेचेर भए पनि सहकारीको पैसा तिर्ने उनले बताए । ‘म विश्वासघात गर्दिनँ । कर्मचारीले फसाए । बचतकर्ताको पैसा सहकारीको नाममा भएको सम्पत्ति बेचेर पनि तिर्छु,’ उनले भने । 

सहकारी भने चलिरहेको उनले बताए । सहकारीको भवनमै १२ वटा सटर भाडामा लगाएको छ । त्यहाँबाट पनि आम्दानी भइरहेको उनले बताए । मण्डल २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नम्बर ४ मा कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । 

धनपालथान गाउँपालिका–४ का वडाध्यक्ष श्रीराम चौधरीले पनि कर्मचारीले ठगी गरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्