०२ असार २०८३, मंगलबार

विद्यालयको छात्रावासका लागि जग्गा भाडामा लिएर तरकारी खेती

भदौ २९, २०८१
म्याग्दी
विद्यालयको छात्रावासका लागि जग्गा भाडामा लिएर तरकारी खेती

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा रहेको जनशान्ति माविले जग्गा भाडामा लिएर तरकारीखेती गरेको छ । छात्रावासका लागि आवश्यक पर्ने तरकारी विद्यालय आफैंले उत्पादन गरेको हो । 

विद्यालयका प्रधानाध्यापक मनबीर किसानले दुई रोपनी जग्गा भाडामा लिएर रायोसाग, काउली, बन्दा, आलु, फर्सी, जुगेनी, मुला, जागरलगायत तरकारी उत्पादन गरिएको बताए  । 'सरकारले हिमाली विद्यालयका छात्रावासका लागि मासिक चार हजारका दरले उपलब्ध गराउने अनुदान अपुग हुन थालेपछि आफैं तरकारी उत्पादन गरिएको हो,' उनले भने, 'फुर्सदको समय र बिदामा शिक्षक र विद्यार्थीहरूले करेसाबारीमा काम गर्छौं ।'

कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा दुई सय जना भन्दा बढी विद्यार्थी छन् । कक्षा चार देखि १० सम्मका ८५ जना विद्यार्थीलाई विद्यालय भवन परिसरकै छात्रावासमा बसोबासको व्यवस्था मिलाइएको छ । 

छात्रावासमा बस्ने ७५ जनालाई संघीय सरकारले र १० जनालाई वारागुङ गाउँपालिकाले मासिक चार हजारका दरले अनुदान उपलब्ध गराउछ । पूर्वप्राथमिकदेखि कक्षा तीनसम्म अध्ययन गर्ने ७० जना विद्यार्थीहरूका लागि अभिभावकबाट न्यूनतम शूल्क लिएर सामुदायिक छात्रावास सञ्चालन गरिएको प्रअ किसानले बताए ।

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रका विद्यार्थीहरूको सहजताका लागि सरकारले हिमाली विद्यालयहरूमा छात्रावास सञ्चालन गरेको छ । मुस्ताङमा ज्याला मजदुरीका लागि काम गर्न पुगेकाहरूको छोराछोरीको संख्या ८० प्रतिशत भन्दा बढी छ । 

पछिल्लो समयको मूल्यवृद्धिका कारण अनुदानले दाल र चामल खरिद गर्नमात्र पुगेपछि विद्यालय आफैंले तरकारी उत्पादन गर्न थालेको छात्रावासका प्रमुख नारायण पौडेलले बताए । 'आफैं उत्पादन गर्न थालेपछि तरकारी किन्न परेको छैन,' उनले भने, 'तरकारी खेतीका लागि विद्यालयले वार्षिक ३० हजार तिरेर जग्गा भाडामा लिएको छ ।'

गत वर्ष कागखोलामा आएको बाढीले विद्यालयको दुई रोपनी करेसाबारी बगरमा परिणत भएको थियो । एक वर्षपछि नयाँ ठाउँमा जग्गा खोजेर करेसाबारीलाई निरन्तरता दिएको शिक्षक पौडेलले बताए । विद्यार्थीहरूले तरकारी खेतीसम्बन्धी ब्यवहारिक ज्ञान पनि लिन पाएका छन् । 
कागबेनीबासीले जनशान्ति माविलाई घेकरमा उपलब्ध गराएको पाँच रोपनी जग्गामा आयस्रोत जुटाउन स्याउ खेती गर्ने तयारी गरेको छ । तरकारी खेतीसँगै विद्यालयले तापक्रम अनुकुलित घर बनाएर तरकारीको बिरुवा उत्पादन गर्ने नर्सरी स्थापना गरेको छ । नर्सरी स्थापनाका लागि सरकारी निकायबाट पाँच लाख ५० हजार अनुदान प्राप्त भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्