०३ असार २०८३, बुधबार

म्यानमार बाढी अपडेटः जुन्टा प्रमुखले गरे विदेशी सहायताका लागि अनुरोध

भदौ २९, २०८१
काठमाडौं
म्यानमार बाढी अपडेटः जुन्टा प्रमुखले गरे विदेशी सहायताका लागि अनुरोध

याङ्गुन– म्यानमारको जुन्टा प्रमुख मिन आङ ह्लाइङले शनिवार मानिसहरूलाई विस्थापित गरेको विनाशकारी बाढीको सामना गर्न विदेशी सहायताका लागि अनुरोध गरेका छन् । 

म्यानमार, भियतनाम, लाओस र थाइल्यान्डमा विनाशकारी चक्रवात ’यागी’सँगै आएको भारी वर्षाले निम्त्याएको बाढीपहिरोले करिब ३०० जनाको ज्यान लिएको छ । 

म्यानमारमा दुई लाख ३५ हजारभन्दा बढी मानिस बाढीको प्रभावबाट बच्न आफ्नो घर छोड्न बाध्य भएको जुन्टा प्रमख मिनले जानकारी दिएका छन् । 

‘सरकारी अधिकारीले पीडितहरूका लागि उद्धार र राहत सहायता सामग्री प्राप्त गर्न विदेशी देशसँग सम्पर्क गर्न आवश्यक छ,’ उनले भने, ‘उद्धार, राहत र पुनःस्थापनाका कार्यहरू सकेसम्म चाँडो व्यवस्थापन गर्न आवश्यक छ ।’

एक सैन्य प्रवक्ताले देशका केही क्षेत्रसँग सम्पर्क गुमाएको र मध्य मांडले क्षेत्रको सुन खानीमा गएको पहिरोमा दर्जनौँ पुरिएको घटनाबारे अनुसन्धान भइरहेको बताए । 

म्यानमारको सेनाले पहिले विदेशबाट प्राप्त हुने मानवीय सहायतालाई अवरुद्ध गरेको थियो । 

गत वर्ष यसले देशको पश्चिममा आएको शक्तिशाली चक्रवात ’मोचा’का करिब १० लाख पीडितहरूसम्म पुग्न खोज्ने सहायता समूहको यात्रा अनुमति निलम्बन गरेको थियो । 

सन् २००८ मा म्यानमारमा चक्रवात ’नरगिस’ले कम्तीमा १ लाख ३८ हजार मानिसको ज्यान लिएपछि तत्कालीन जुन्टामाथि आपतकालीन सहायता अवरुद्ध गरेको र शुरूमा मानवीय कामदार र आपूर्तिको पहुँच दिन अस्वीकार गरेको आरोप लगाइएको थियो । 

शनिवार सेनाद्वारा निर्मित राजधानी नेपिडो वरपरको बाढी प्रभावित क्षेत्रमा सैन्य ट्रकमार्फत साना उद्धार डुङ्गाहरू पुर्याइरहेको एएफपीले उल्लेख गरेको छ । 

राजधानी वरपरको क्षेत्रमा बाढीले विनाशकारी पहिरो निम्त्याएको र बिजुली टावर, भवन, सडक, पुल र घरहरू ध्वस्त भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्