२८ असार २०८३, आइतबार
अपराधमा विदेशी नागरिक

क्रिप्टो र कल सेन्टरमा चिनियाँ नागरिकको ‘नेक्सस’– आकर्षक युवती राखेर धन्दा

भदौ ३१, २०८१
काठमाडौं
क्रिप्टो र कल सेन्टरमा चिनियाँ नागरिकको ‘नेक्सस’– आकर्षक युवती राखेर धन्दा
बायाँबाट क्रमश: दुई चिनियाँ र एक फिलिपिनो नागरिक

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितपुरको एकान्तकुनास्थित कल सेन्टरमा छापा मारेपछि नयाँ तथ्य बाहिरिएको छ । यो गिरोहको आपराधिक पृष्ठभूमि दुबईसम्म जोडिएको छ । 

पक्राउ परेकामध्ये चिनियाँ नागरिक डिङ जिआहोङ र लिन क्वीङजिन यसअघि दुबईमा कल सेन्टर र क्रिप्टो कारोबार गरेकै आरोपमा पक्राउ परी डिपोर्ट भएका अभियुक्त हुन् । 

दुबईमा ३ सय ५० जना नेपाली, भारतीय र अफ्रिकनमूलका नागरिकलाई यी २ चिनियाँ नागरिकले ‘लीड’ गर्थे ।

अपार्टमेन्ट भाडामा लिएर कल सेन्टर चलाउँदा एक अफ्रिकीले पैसाको लफडा झिकेपछि उसलाई अपार्टमेन्टको छतबाट धकेलेर हत्या गरिदिएपछि डिङ र लिनको गिरोह दुबई प्रहरीको नियन्त्रणमा पुगेको थियो । 

तत्कालीन समयमा दुबई प्रहरीले सबै समान कब्जामा लिएर चिनियाँ नागरिकसहित नेपाली र भारतीयलाई समेत डिपोर्ट गरिदिएको थियो । चिनियाँ नागरिकद्वय डिङ र लिनले नेपाल आएर पुरानै धन्दालाई निरन्तरता दिन नेपाली नागरिकको खोजी गरेका थिए ।

उनीहरूले रौतहटका कमल कँडेल, झापाका सुजन प्रधान, सुनसरीका विजयबहादुर गिरी र नवलपरासीका सुदीप अधिकारीको खोजी गरे ।

राम्री मोडललाई फोन र भिडियो कल गर्न लगाएर कलसेन्टर चलाउने भन्दै फिलिपिनो महिला हानिपा सिनसुआतलाई फिलिपिन्सबाटै नेपाल बोलाए ।

हानिपालाई हिङ्गी, बम्बल, मुस्लिमा, ईन्साह, सलाम, मुज्ज, ओकुपीड, अल्खादबालगायत डेटिङ एपमा सब्सक्राइब गर्न लगाएर भिडियो कल गर्ने धन्दामा यो गिरोहको काम शुरू भयो । 

null

दिनभरि सुत्ने, रातभरि काम गर्ने

यो गिरोहले एकान्तकुनास्थित जगदीश उपाध्यायको साढे २ रोपनीमा फैलिएको तीनतल्ले घर भाडामा लिएका थिए । मासिक ३ लाख ५० हजार घरभाडा दिने शर्तमा ३ वर्षका लागि भाडा सम्झौता गरिएको थियो ।

घरभित्रको डेकोरेसन हेर्दा पाँचतारे होटलभन्दा कम थिएन । डबल डेकोर बेड, उच्च तहको बाथटबसहितको घरभित्र कार्यालय बनाएर फिलिपिनो नागरिकको अर्धनग्न भिडियो बनाई डेटिङ एपमा आबद्धलाई पठाउन थाले । 

अचम्मको कुरा त यो घरमा ६ जना कार्यालय सहयोगी राखिएको थियो । ५० नेपालीलाई कल सेन्टरमा लगाएको गिरोहले कसैलाई पनि बाहिर धेरै हिँडडुल गर्न दिएको थिएन ।

सीआईबीका अनुसार यो गिरोहले कामदारलाई घरभित्र गाँजा सेवनदेखि मदिरा सेवनसम्म गरेर मजा लिन दिने तर, रातभरि कल सेन्टरमार्फत फोन तथा म्यासेज गर्न लगाउने काम गर्थे ।

राति कोठामा बत्ती बालेको थाहा पाए शंकाले हेर्छन् भनेर कोठाको झ्यालमा कालो पर्दा लगाइएको थियो । 

विशेषगरि मुस्लिमको बाहुल्य भएका मुलुकसँगै क्यानडा, अमेरिका, अस्ट्रेलियाका पुरुषहरूलाई छानीछानी कलसेन्टरमार्फत फोन गर्थे । डेटिङ एपमा जसले सब्सक्राइब गर्छ, उसैसँग भिडियो च्याटिङ शुरू हुन्थ्यो । अनि खातामा पैसा हाल्न लगाउँथे ।

सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार शुरू–शुरूमा खातामा रकम आएपछि फाइदा भयो भनेर ग्राहकलाई फिर्ता पनि पठाउँथे । तर, धेरै रकम पठाएपछि भने यो गिरोह सम्पर्कविहीन हुने गरेको अनुसन्धानबाट खुलेको छ ।

दुबईमा अवैध काम गर्दा प्रयोग गरिएका मोडलहरू देखाएर पुरुषलाई लोभ्याउने तिकडम यो गिरोहले गर्दै आएको थियो । महंगा गाडीसँगै आकर्षक मोडलका उच्छृङ्खल हर्कत नै यो गिरोहको ‘बार्गेनिङ प्वाइन्ट’ थियो । 

null

आगामी कार्यथलो थाइल्यान्ड

यो गिरोह लामो समय एउटै ठाउँमा नबस्ने गरेको अनुसन्धानबाट खुलेको छ । सामान्यतया ६ महिना एउटा स्थानमा बसेर काम गरेपछि अर्को ६ महिना अर्कै स्थानको खोजीमा हुन्थे ।

तर, नेपालमा भने ३ वर्ष काम गरेपछि आगामी कार्यथलो थाइल्यान्डलाई बनाउने योजनाअनुसार गिरोहले एक सदस्यलाई पायक पर्ने स्थान हेर्न थाइल्यान्ड पठाइसकेका थिए ।

५० जनालाई कल सेन्टरबाट कल गर्न लगाएर कम्तीमा एकजनाले दिनमा १ हजार मात्रै खातामा तान्न सफल भयो भने पनि दिनको ५० हजारसम्म जम्मा हुने हिसाबकिताब गिरोहको थियो ।

‘एकपटक काम शुरू गरेपछि एक वर्षसम्म लगातार काम गर्दा करोडभन्दा बढी जम्मा गरेपछि काम गर्ने स्थान नै परिवर्तन गरेर फरार हुने गरेको अनुसन्धानबाट खुलेको छ,’ एसपी बोगटीले भने, ‘पक्राउ परिहाल्यो भने पनि छुटेपछि पुनः काम शुरू गरिहाल्ने योजनामा यो गिरोह रहने गरेको देखियो ।’

सीआईबीले यो गिरोहबाट बरामद गरेको १९४ वटा मोबाइल र कम्प्युटर डीएफएलका लागि विधिविज्ञान प्रयोगशाला पठाएको छ । त्यसबाट रिपोर्ट आएपछि उनीहरूको थप कर्तुत खुल्दै जाने बोगटी बताउँछन् । 

null

नेपालमा चिनियाँ नागरिक अपराध कर्ममा किन ? 

६० किलो सुन तस्करीदेखि कल सेन्टर, क्रिप्टो हुँदै वन्यजन्तु तस्करीसम्ममा चिनियाँ नागरिकको संलग्नता भेटिएको छ । गत जेठमा बौद्धबाट पक्राउ परेका चिनियाँ नागरिक गंगा टासीबाट त प्रहरीले नेपाली नागरिकता, सवारीचालक अनुमति पत्र र राहदानी समेत बरामद गरेको थियो । उनी ६० किलो सुन तस्करीको दोस्रो चरणको अनुसन्धानका क्रममा पहिचान भएका आरोपी थिए । 

२०७६ पुसमा प्रहरीले एकैपटक काठमाडौंबाट १२२ जना चिनियाँ नागरिक पक्राउ गरेको थियो । उनीहरूले नेपालमा बसेर चीनस्थित चिनियाँ नागरिककै बैंक खाता ह्याक गरी रकम अर्को खातामा ट्रान्सफर गर्दै आएका थिए । घर नै भाडामा लिएर खाता ह्याक गर्ने चिनियाँ नागरिक पक्राउ गर्ने प्रहरी टोलीको नेतृत्व एसपी बोगटीले नै गरेका थिए । 

उनी सम्झन्छन्, ‘नेपालमा बसेर नेपालीहरूलाई नै ठग्ने, चिनियाँ नागरिककै बैंक खाता ह्याक गर्ने, क्रिप्टोमा लगानी गर्नेसम्मका हर्कत चिनियाँ आपराधिक गिरोहले गर्दै आएको विभिन्न घटनाले पुष्टि गरेका छन् ।’

शंकास्पद रूपमा हुँदै आएका चिनियाँ नागरिकको गतिविधिलाई सीआईबीले नियालिरहेको र अपराध गरेको पुष्टि भएमा पक्राउ गरेर कारबाही समेत थालेको बोगटी बताउँछन् । 

अध्यागमनको अभिलेखअनुसार सन् २०२२ मा १९१ जना, २०२३ मा २०९ जना र २०२४ को अगस्टसम्ममा ११२ जना चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ । ठगी, ओभर स्टे (तोकिएको अवधिभन्दा बढी बसेको), संगठित अपराधमा संलग्नतालगायत घटनामा उनीहरूलाई निष्कासन गरिएको हो । 

पटक–पटक अपराधमा संलग्न चिनियाँ नागरिकलाई पक्राउ गरेर निष्कासित गरिए पनि अन्य चिनियाँ आपराधिक गिरोहले भने नेपाललाई आश्रयस्थल बनाएर अपराध गरिरहेको देखिन्छ ।

‘अहिलेसम्मको घटना केलाउँदा नेपालमा विशेषगरी इलेक्ट्रोनिक डिभाइस प्रयोग गरेर अपराध गर्ने समूहमा चिनियाँ गिरोह देखिन्छन्,’ एसपी बोगटीले भने, ‘उनीहरूको बयानबाट थाहा हुन्छ कि नेपालमा खासै निगरानी नहुने र पैसा तिर्‍यो भने सजिलै योजनाले पूर्णता पाउने बुझाइ उनीहरूमा छ ।’

बोगटीले शंकास्पद चिनियाँ नागरिकलाई घर वा होटलको रूम लामो समयसम्म भाडामा दिने सम्बन्धित धनीलाई पनि मतियारको रूपमा कारबाही गर्नुपर्ने देखिएको छ ।

‘पैसा आउँछ भन्दैमा नेपालीले नै अपराध र अपराधीलाई साथ दिन मिल्दैन,’ उनले भने, ‘शंकास्पद व्यक्ति वा गिरोहलाई भाडामा घर दिने घरबेटीलाई पनि मतियारको रूपमा कारबाहीको दायरामा ल्याउँछौं ।’

salt training

कमेन्ट गर्नुहोस्