२८ जेठ २०८३, बिहीबार
सडक स्तरोन्नतिमा ढिलाइ

मुग्लिन–पोखरा सडकमा झण्डै ४ वर्षदेखि सास्ती, पर्यटन व्यवसायमा धक्का

असोज १, २०८१
कास्की
मुग्लिन–पोखरा सडकमा झण्डै ४ वर्षदेखि सास्ती, पर्यटन व्यवसायमा धक्का

केही दिनयता मौसम खुलेपछि पोखरा आउने हरेक पर्यटकलाई माछापुच्छ्रे हिमालले स्वागत गरिरहेको छ ।

वर्षा कम भएपछि पर्यटकीय राजधानी पोखरामा पर्यटकको चहलपहल बढ्ने गर्छ । चाडपर्वको समयमा अझै बढी चहलपहल हुन्छ ।

चाडपर्व नजिकिँदै गर्दा र पर्यटकीय सिजन शुरू भइसक्दा पनि पोखरा भित्रिने सडकको अवस्था बेहाल छ । विशेषगरी मुग्लिन–पोखरा सडकखण्डका कारण सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ ।

जिल्ला ट्राफिक कार्यालय तनहुँका अनुसार पृथ्वीराजमार्ग (मुग्लिन–पोखरा) सडक खण्डमा औसतमा दैनिक ३ हजार २ सय सवारीसाधन गुड्छन् । चाडपर्वको समयमा सवारीसाधन र यात्रुको संख्या अझै बढी हुने गरेको छ ।

२०७७ सालमा चिनियाँ कम्पनी अनहुइ कैयुएन हाइवे एन्ड ब्रिजले ७ अर्ब ४० करोड ४६ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको सडक खण्डको काम साढे ३ वर्षको अवधिसम्म सम्पन्न हुन सकेको छैन । पूर्वी र पश्चिमी खण्ड गरी दुई भागमा बाँडेर काम अघि बढिरहेको छ । पश्चिमभन्दा पूर्वी खण्डको काम केही अघि छ । ६७ प्रतिशत पूर्वी खण्डको काम सकिँदा पश्चिमतर्फ जम्मा ३० प्रतिशत काम भएको छ ।

मुग्लिन–पोखरा सडक खण्ड (पूर्वी)का सूचना अधिकारी इन्जिनीयर विष्णुप्रसाद पाण्डेका अनुसार यस खण्डमा यात्रा गर्न सहज बनेको छ ।

६७ प्रतिशत काम सम्पन्न भएको सडक खण्डमा करिब ३३ किलोमिटर सडक पिच भएको छ ।

‘४१ किलोमिटरमध्ये कालोपत्रे नै ३३ किलोमिटर जति भइसक्यो । ६/७ किलोमिटर मात्र पुरानो वा कच्ची रोडमा हिँड्नुपर्ने हो,’ सूचना अधिकारी पाण्डेले थपे, ‘अब त्यस्ता अवरोध लगभग छैनन् । कामको गति पनि बर्खायाम सकिएपछि विस्तारै बढ्छ । काम मिलेसम्म भएकै हो । सबै प्रकारका काम चलिरहेको छ ।’

पश्चिमभन्दा पूर्वी खण्डको काम केही महिना ढिला शुरू भएको हो । पहिले नै शुरू भएको पश्चिम खण्डको काम भने जम्मा ३० प्रतिशत भएको छ । 

काममा भएको ढिलासुस्तीले मुग्लिन–पोखरा सडक खण्डमा यात्रा गर्ने यात्रुले सास्ती व्यहोर्नुपर्छ । धुलाम्मे सडकले यात्रा सकसपूर्ण बनाएको छ ।

केही हप्ताअगाडि मात्र काठमाडौं–पोखरा यात्रा गरेका श्याम राना सडकमा थोरै सुधार भएपनि सास्ती यथावत रहेको बताउँछन् । 

‘काठमाडौंबाट पोखरा आउँदा सास्ती खेप्नुपर्छ । एक वर्षअगाडिको तुलनामा अलि सहजचाहिँ छ, तर पूरै राम्रो भन्न मिल्दैन,’ श्यामले भने । 

एक हप्ता अगाडि चितवनबाट पोखरा आइपुगेका कविराज ढकाल पोखरा आउने सडक धुलाम्मे रहेको सुनाउँछन् । मोटरसाइकलमा यात्रा गर्न निकै समस्या रहेको उनले बताए ।

‘बाटोको धूलोले गाह्रो भयो । बाटो पहिलाभन्दा सुधार भएपनि अवस्था नराम्रो नै छ । धूलो खाइएको छ । मोटरसाइकल चलाउनेलाई असहज छ,’ कविराजले सुनाए । 

फोटो– विनोद ढुंगाना 

चिनियाँ ठेकेदारको लापरबाहीका कारण राजमार्ग स्तोरन्नतिको काम समयमा सम्पन्न हुन नसकेको भन्दै राजनीतिक तहबाट विरोध भइरहेको छ ।

छिटो काम सम्पन्न गर्न दबाब दिने उद्देश्यले तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेपालका लागि चिनियाँ राजदूतलाई लिएर अवलोकनमा निस्किएका थिए । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको पालामा भैतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले पनि राजमार्गको अवलोकनमा गएर ठेकेदारलाई काम सम्पन्न गर्न दबाब दिएका थिए । 

तनहुँको सदरमुकाम दमौली क्षेत्रमा धूलोले अत्यास बढाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले समेत यो सडक निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गरेका थिए । 

राष्ट्रपति निर्वाचित हुनुअघि पौडेल तनहुँबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक निर्माणमा पनि चिनियाँ कम्पनीले यस्तै आलटाल र ढिलाइ गरिरहेको छ, जसका कारण दशैंमा घर फर्किने यात्रुले राजमार्गमा घण्टौंको जाम, धूलो र सास्ती खेप्नुपर्ने भएको छ । 

पोखरा र बन्दीपुरको पर्यटन व्यवसाय मारमा 

सडक निर्माणमा भएको ढिलाइले यात्रु मात्र होइन, पर्यटन व्यवसायी पनि मारमा छन् । यसको प्रत्यक्ष असर पोखरा र बन्दीपुरका पर्यटन व्यवसायीलाई परेको छ ।

सेप्टेम्बर/अक्टोबरलाई पर्यटकीय सिजन मानिन्छ । सडकको असर पोखराको पर्यटनमा परिररहेको पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

‘हाम्रो पर्यटनको भविष्य मुग्लिन–पोखरा सडक खण्ड र अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिएको छ । सम्बन्धित निकायले समयमा सम्पन्न गर्नका लागि काम चुस्तदुरुस्त गर्नुपर्‍यो । यही अवस्था रह्यो भने पर्यटकको संख्यामा निकै असर पर्छ,’ श्रेष्ठले भने । 

कोरोना महामारीपछि आन्तिरक पर्यटकले नेपालको पर्यटन केही हदसम्म धानिरहेको छ । मुग्लिन–पोखरा सडक खण्ड स्तरोन्नति छिट्टै नभए पर्यटक ‘डाइभर्ट’ हुने उनको चिन्ता छ ।

‘अहिले म्यासेज नेगेटिभ के गयो भने पोखरा जाने सडक नराम्रो छ । त्यसलाई चिर्न छिटोभन्दा छिटो सडक निर्माण गर्नु आवश्यक छ । जति आन्तिरक पर्यटक भित्रिन्थे, त्योभन्दा अहिले निकै कम भएको छ । पर्यटक डाइभर्ट हुने अवस्था छ,’ उनले भने । 

सेप्टेम्बरमा पनि सोचेजस्तो बूकिङ नआएको उनले बताए ।

सडकका कारण पोखरा मात्र होइन, बन्दीपुरमा समेत पर्यटक घटेका छन् । स्थलमार्गबाट पोखरा घुम्न आउनेमध्ये धेरै पर्यटक फर्किँदा बन्दीपुर पुग्ने गरेका थिए ।

अहिले सडकको समस्याका कारण पर्यटकको संख्यामा निकै कमी आएको बन्दीपुर पर्यटन परिषद् अध्यक्ष किसान प्रधानले बताए ।

‘बर्खा र सडकको अवस्थाका कारण पर्यटकको संख्या निकै कम छ । बाटो निर्माणका क्रममा रहेकाले ठाउँ–ठाउँमा पहिरोको समस्या देखियो । सिजन शुरू भइसक्दा पनि पर्यटक कम नै छन्,’ उनले लोकान्तरसँग भने । 

salt training

कमेन्ट गर्नुहोस्