२४ जेठ २०८३, आइतबार

मतदानको १० वर्षपछि पनि अधिकांश स्कटिश ‘स्कटल्यान्ड स्वतन्त्र राष्ट्र’को विपक्षमा

असोज १, २०८१
काठमाडौं
मतदानको १० वर्षपछि पनि अधिकांश स्कटिश ‘स्कटल्यान्ड स्वतन्त्र राष्ट्र’को विपक्षमा

लन्डन– पछिल्लो स्वतन्त्रता जनमत सङ्ग्रहको १० वर्षपछि मङ्गलवार प्रकाशित नयाँ सर्वेक्षणअनुसार अधिकांश स्कटिश जनता बेलायतको हिस्सा बनिरहन पुनः मतदान गर्नेछन् । 

सन् २०१४ सेप्टेम्बर १८ मा भएको मतदानमा ‘स्कटल्यान्ड स्वतन्त्र मुलुक हुनुपर्छ ?’ भन्ने प्रश्नमा करिब ५५ प्रतिशतले ‘हुन्न’ भन्ने जवाफ दिएका थिए भने ४५ प्रतिशतले ‘हुनुपर्छ’ भनेका थिए । 

एक दशकपछि सर्वेक्षणकर्ता युगभले समान विभाजनको खुलासा गरेको छ । सर्वेक्षणमा ५६ प्रतिशतले यथास्थितिमा रहनका लागि मतदान गर्ने र ४४ प्रतिशतले स्कटल्यान्ड एक्लै जानेमा समर्थन गर्ने बताएका छन् । 

स्वतन्त्रता समर्थक स्कटिश नेसनल पार्टी (एसएनपी) सन् २००७ मा एडिनबर्गमा सत्तालाई तल्लो स्तरमा प्रत्यायोजित गरिएको संसद्मा आएदेखि यो मुद्दा स्कटिश राजनीतिमा हाबी भएको छ । 

सन् २०१४ को परिणामलाई एसएनपीको लामो समयदेखि चलिरहेको केन्द्रीय नीतिका लागि झट्काका रूपमा हेरिएको छ । लन्डनमा सरकारले यो मुद्दा एक पुस्ताका लागि सुल्झिएको आकलन गरेको थियो । 

तर मात्र दुई वर्षपछि बेलायतको युरोपेली सङ्घ (ईयू) छाड्ने पक्षमा राष्ट्रव्यापी मतदानले बहसलाई पुनः शुरू गरेको छ । किनकि स्कटिशहरूको बहुमतले उक्त कदमको विरोध गरेको थियो । 

तत्कालीन ईयू समर्थक एसएनपी नेता तथा एडिनबर्गमा प्रथम मन्त्री (स्कटल्यान्ड सरकार प्रमुख) निकोला स्टर्जनले ब्रेक्सिटले बेलायत युनियनका शर्तहरू परिवर्तन गरेको तर्क दिँदै अर्को मतदानका लागि दबाब दिए । 

आंशिकरूपमा स्टर्जनको लोकप्रियता र बेलायतका तत्कालीन प्रधानमन्त्री बोरिस जोनसनको कोरोना भाइरस महामारीसँगको मुकाबिलामा भएको आलोचनाका कारण स्वतन्त्रताका लागि अधिक समर्थनको सङ्केत दिने सर्वेक्षण सन् २०२० देखि अगाडि बढ्यो । 

तर सन् २०२२ मा बेलायतको सर्वोच्च अदालतले बेलायत सरकारको अनुमतिबिना गैरबाध्यकारी सल्लाहकार जनमत सङ्ग्रह आयोजना गर्न रोक लगाएपछि उक्त मुद्दा सेलाएको छ ।

हाल जोन स्वाइनीको नेतृत्वमा रहेको एसएनपी प्रशासनले पनि स्वास्थ्य र शिक्षाजस्ता दैनिक मुद्दाहरूको मूल्यमा स्वतन्त्रतालाई अगाडि बढाएकामा सार्वजनिक आलोचनाको सामना गर्नुपरेको छ । 

भविष्यमा कुनै पनि जनमत सङ्ग्रहमा कसरी मतदान गर्ने भन्ने प्रश्नको जवाफमा ‘थाहा छैन’ भन्ने आठ प्रतिशत स्कटिशले ‘दुवै पक्षका लागि लचकतापूर्ण’ अवस्था दिएको युगभले बताएको छ । 

एक हजार ६३ मानिसमाथि गरिएको सर्वेक्षणमा युवा मतदाताले स्वतन्त्रताको समर्थन गर्ने अधिक सम्भावना देखिएको छ भने वृद्ध मतदाताहरूले निरन्तर संयुक्त अधिराज्यलाई प्राथमिकता दिएका छन् । 

बहुमत (५१ प्रतिशत)ले स्वतन्त्रतालाई पछिल्लो दशकमा धेरै ध्यान दिइएको बताएका छन् भने अधिकांश (७० प्रतिशत)ले आगामी १२ महिनामा अर्को मतदान नचाहेको बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्