
दरबारमार्गमा काठमाडौं महानगरपालिका प्रमुख (मेयर) बालेन साहका समर्थकमाथि कुटपिट भएको छ । बालेनका पक्षमा नारा लगाएलगत्तै अर्को युवाको समूहले एक युवालाई कुटपिट गरेको हो ।
अपरान्ह ४ बजेबाट शुरू भएको नेसनल डे कन्सर्टमा सहभागी ती युवाले बालेनको नाम लिएर नारा लगाएका थिए । कुटपिट गर्ने व्यक्तिहरूको पहिचान हुन नसकेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । पाँच जनाको समूह ती युवामाथि जाइलागेपछि रोक्ने प्रयास भएको थियो । कुटपिटलगत्तै ती युवाहरू त्यहाँबाट भागेका थिए ।
संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा ठूलो संख्यामा युवाहरू राष्ट्रिय झण्डासहित सहभागी भएका छन् । कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सिवानी मोक्तान, स्वप्न सुमन लगायतको प्रस्तुति रहने बताइएको छ । सो कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेतसहभागी हुने भनिएको छ ।
कार्यक्रमस्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले समेत कार्यक्रमस्थलको अनुगमन एवं निरीक्षण गरेका थिए । प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीका अनुसार कार्यक्रमस्थलमा तीनभन्दा हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।