२४ असार २०८३, बुधबार
सहकारी ठगी छानबिन प्रतिवेदन

छविलाल जोशीको बयान– गोरखा मिडियाका लागि ऋण खोज्न रवि र म बैंक गएका थियौं

असोज ४, २०८१
काठमाडौं
छविलाल जोशीको बयान– गोरखा मिडियाका लागि ऋण खोज्न रवि र म बैंक गएका थियौं

गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी बञ्जाडेले गोरखा मिडियाका लागि ऋण खोज्न रबि लामिछाने र आफू बैंक गएको बयान दिएका छन् । संसदीय छानबिन समितिलाई दिएको बयानमा जोशीले पत्नीको नाममा रहेको घर धितो राख्न भनेपछि आफू सहमत नभएको बताएका हुन् । 

‘मेरो नाममा ३५ प्रतिशत शेयर कायम गरी रवि लामिछानेका नाममा १५ प्रतिशत र जीबी राईको नाममा ५० प्रतिशत शेयर रहने गरी चुक्ता पुँजी ५ करोड रुपैयाँबाट १२ करोड बनायाैं,’ बयानमा जोशीले भनेका छन्, ‘त्यसपछि कम्पनीको लागि ऋण लिने प्रक्रियामा नेपाल बैंकको न्युरोड शाखामा रवि र म लेखा प्रतिनिधि गएका थियौं ।’ 

लामिछानेले भने गोरखा मिडियामा कहाँबाट पैसा आयो भन्ने आफूलाई जानकारी नरहेको दाबी गर्दै आएका छन् । तर सञ्चालक जोशीको बयानले आर्थिक स्रोत जुटाउने काममै उनको संलग्नता प्रष्ट्याएको छ । सोधिएका अधिकांश प्रश्नमा जोशीले जीबी राई र रवि लामिछानेलाई नै सबै थाहा भएको बताएका छन् । जीबी अध्यक्ष र रवि गोरखा मिडियाको प्रबन्ध निर्देशक थिए । 

गोरखा मिडियाबाट आर्थिक वर्ष २०७७/०७८ मा ब्याजबापत १ करोड ५५ लाख भुक्तानी भएको देखिन्छ । उक्त रकम कसलाई कुन ऋणबापत दिएको हो भन्ने प्रश्नको जवाफमा जोशीले भनेका छन्– ‘कि प्रभुले जानुन्, कि जीबी राई र रवि लामिछानेले जानुन् । मलाई थाहा भएन ।’

संसदीय छानबिन समितिले सहकारीमार्फत गोरखा मिडियामा गएको ६५ करोड रुपैयाँमा गोरखा मिडियाका तत्कालीन सञ्चालक जीबी राई, छविलाल जोशी बन्जाडे, कुमार रम्तेल र लामिछानेलाई जिम्मेवार ठहर्याउँदै कारबाही सिफारिश गरेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्