०६ साउन २०८३, बुधबार
सहकारी ठगी प्रकरण

रविले गोरखा मिडियाबाट लिएको १७ लाख पेस्की फर्छ्यौट हुन बाँकी

असोज ४, २०८१
काठमाडौं
रविले गोरखा मिडियाबाट लिएको १७ लाख पेस्की फर्छ्यौट हुन बाँकी

​गोरखा मिडिया नेटवर्क प्रालिबाट एक करोडभन्दा बढी तलब लिएका रवि लामिछानेले तलबबाहेक पनि १७ लाख पेस्की लिएको खुलेको छ । 

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदनमा लामिछानेले तलब भत्ताबाहेक पनि १७ लाख पेस्की लिएर अहिलेसम्म नतिरेको उल्लेख छ ।

उनले आर्थिक वर्ष २०७७/७८ मा कर्मचारी पेस्की भन्दै ६ लाख ४५ हजार लिएका थिए भने २०७८/७९ मा १० लाख ५५ हजार पेस्कीका रूपमा बुझेको समितिको प्रतिवेदनले जनाएको छ । 

उनले समितिमा दिएको बयान र सार्वजनिक वक्तव्यमा गोरखा मिडिया नेटवर्कमा आफ्नो कुनै आर्थिक दायित्व नरहेको दाबी गर्ने गरेका थिए । तर प्रतिवेदनले उनको दाबी खारेज गरिदिएको छ । 

त्यस्तै उनले आफ्नै हातले चेक काटेर नोबडी प्रोडक्सनलाई पनि ५ करोड ३५ लाख रुपैयाँ पेस्की दिएको प्रतिवेदनमा उल्लेख छ । 

लामिछानेलगायत अन्य कर्मचारीलाई दिएको सम्पूर्ण पेस्की रकम १ करोड १७ लाख ३० हजार रहेको प्रतिवेदनले जनाएको छ । 

सर्वाधिक पेस्की लिएर नतिर्नेमध्ये लामिछाने दोस्रो स्थानमा छन् । सबैभन्दा धेरै पेस्की शम्भु गुरागाईँले लिएका छन् । उनको नाममा ८१ लाख भन्दा बढी रकम फर्छ्यौट हुन बाँकी छ । 

दोस्रोमा लामिछाने छन् । उनले १७ लाख लिएका छन् । तेस्रोमा विपिन कुमार आचार्य छन्, उनले करिब १० लाख रुपैयाँ पेस्की बापतको रकम तिर्नुपर्ने छ । 

तलब बापत टन्नै रकम खर्च भएको देखाइएको भएता पनि प्रतिवेदनले सोको कर बापत नेपाल सरकारलाई १ करोड ३६ लाख भन्दा बढी तिर्नुपर्ने बाँकी रहेको छ । 

गोरखा मिडिया नेटवर्कले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ । 

ऋण नलिए पनि लेखापरीक्षणमा ब्याज बापत १ करोड ५५ लाख ५२ हजार ब्याज बापत भुक्तानी भएको देखाइएको छ । प्रतिवेदनले उक्त कम्पनीको लेखापरीक्षण प्रतिवेदनमाथि पनि प्रश्न उठाएको छ ।​

null

salt training

कमेन्ट गर्नुहोस्