१० साउन २०८३, आइतबार

एक अर्बको स्टार्टअप कोष कार्यान्वयनमा आइसक्यो– अर्थमन्त्री

असोज ४, २०८१
काठमाडौं
एक अर्बको स्टार्टअप कोष कार्यान्वयनमा आइसक्यो– अर्थमन्त्री

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक अर्ब रुपैयाँको स्टार्टअप कोष कार्यान्वयनमा आइसकेको जानकारी दिएका छन् । काठमाडौंमा शुक्रवार आयोजित ‘एसियाली क्रेडिट सप्लिमेन्टेसन इन्स्टिच्युट कन्फेडेरेसन’को ३६ औं सम्मेलनमा उनले स्टार्टअप तथा बिजनेस इन्क्युवेसन ‍सेन्टरको स्थापना गरी सञ्चालनमा ल्याइएको बताएका हुन् ।

‘सरकारले स्टार्टअप र नवप्रवर्तनका लागि इकोसिस्टम विकास गरी उद्यमशील वातावरण सिर्जना गर्न, सहजीकरण र नियमनका लागि आवश्यक प्रबन्ध मिलाएको छ,’ उनले भने ।  

साथै अर्थमन्त्री पौडेलले सरकार अन्तर्राष्ट्रिय संयन्त्रहरूको क्रियाशीलता र नेपालको सक्रिय सहभागिताको पक्षमा रहेको बताए । 

‘आर्थिक विकासका लागि बचतलाई प्रोत्साहित र कर्जाको सहज पहुँच विस्तार गर्न आवश्यक एवम् अपरिहार्य हुन्छ,’ उनले थपे, ‘यसका लागि पर्याप्त धितो राख्न नसक्ने गरिब तथा विपन्न वर्ग र पिछडिएको क्षेत्रमा कर्जा प्रवाह गर्न प्रोत्साहित गर्न आवश्यक छ । सो कर्जाको साँवा व्याज फिर्ता हुने सुनिश्चतताका लागि कर्जा सुरक्षणको संस्थागत व्यवस्था गर्ने क्रममा सार्वजनिक क्षेत्रको लगानीमा बचत तथा कर्जा सुरक्षण कोषको स्थापना भएको छ । यो सकारात्मक उपलब्धि हो ।’

अर्थमन्त्री पौडेलले नवीन सोच तथा प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुनिश्चितता गर्न संस्थागत सुरक्षणको प्रबन्ध अत्यावश्यक हुने कुरामा जोड दिए ।

‘वित्तीय क्षेत्रको विकासका लागि वित्तीय पहुँच अभिवृद्धि, नवीन वित्तीय उपकरणको उपयोग र बचत तथा कर्जा बिस्तार गर्न आवश्यक छ । सुरक्षण संस्थागत गर्न र वित्तीय सुशासनका लागि प्रभावकारी नियमनजस्ता विषयमा पर्याप्त ध्यान दिन जरुरी छ,’ उनले भने, ‘सरकारका घोषित नीति तथा सुविधालाई लक्षित लाभग्राहीसम्म पुर्याउन कोषले आफ्नो सुरक्षण सेवालाई विविधिकरण गर्दै गएको छ । साथै सरकारले प्रदान गर्ने सुरक्षण प्रिमियम अनुदान सुविधासमेत यसै संस्थामार्फत परिचालन गर्ने नीतिले यसको विकास र विस्तारमा योगदान पुर्याएको छ ।' 


 

salt training

कमेन्ट गर्नुहोस्