
आईसीसी क्रिकेट विश्वकप लिग टु मा यूएईले पहिलो जित हात पारेको छ । नामिबियालाई १ विकेटले हराउँदै यूएईले लिग टुमा पहिलो जीत हात पारेको हो ।
विन्डोहकमा नामिबियाले दिएको ३१४ रनको लक्ष्य यूएईले ४९.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । युएईका बिष्णु सुकुमारनले सर्वाधिक ९७ रन जोडे । उनले ९० बलमा ८ चौका र ५ छक्का प्रहार गरे ।
एक समय ११४ रनमा ५ विकेट गुमाएर संकटमा परेको यूएईका लागि सुकुमारन र बासिल हमिदले छैटौं विकेटका लागि १५५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । हमिदले ४७ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ७१ रन बनाए ।
टिमलाई पहिलो जित दिलाउने अलि नासिरले २१ बलमा नट आउट रहँदै महत्वपूर्ण ३८ रन जोडे । आयाशं शर्मा र अलिशान सरफुले समान ३०, कप्तान मुहम्मद वासिमले १९ रन जोडे ।
नामिबियाका जान निकोल लेफ्टी इटनले ४, बेर्नाड स्कोट्जे र टांगेनी लुंगामेनीले समान २ तथा कप्तान जेरार्ड इरास्मसले १ विकेट लिए ।
त्यसअघि टस ब्याटिङको निम्तो पाएको नामिबियाले ५० ओभरमा १० विकेट गुमाउँदै ३१३ रन बनाएको थियो ।
नामिबियाका ओपनर माइकल भान लिगेनले ८५ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक १०७ रन बनाए । जेपी कोट्जेले ५३ बलमा ६४ तथा जान निकोल लेफ्टी इटनले ६३ बलमा ५४ रन जोडे ।
यूएईका लागि अलि नासिरले ३, मोहम्मद जगदुल्लाह, जुनैद सिद्धिकी, बासिल हमिद, राहुल भाटिया र बिस्नु सुकुमारनले समान १ विकेट लिए ।
लिगकै अर्को खेलमा ओमानलाई पराजित गर्दै क्यानडाले लगातार दोस्रो जित दर्ता गरेको छ । क्यानडाले नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित हासिल गरेको हो ।
किङ्स सिटीमा घरेलु टोली क्यानडाले ओमानलाई ५९ रन अन्तरले पराजित गर्यो । पहिलो खेलमा क्यानडाले नेपाललाई १ सय ३ रनको फराकिलो अन्तरले हराएको थियो ।