
संयुक्त राष्ट्रसङ्घले लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट भएको घटनाले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको प्रतिक्रिया दिएको छ ।
मानवअधिकारका लागि राष्ट्रसङ्घका उच्चायुक्त भोल्कर टर्कले यो घटनालाई युद्ध अपराधमा रुपमा लिन सकिने चेतावनीसमेत दिए ।
‘अन्तर्राष्ट्रिय मानवीय कानूनले स्पष्ट रुपमा बुबी–ट्र्याप उपकरणको प्रयोगलाई निषेध गर्दछ,’ सुरक्षा परिषदको आपतकालीन सत्रमा शुक्रवार उनले भने, ‘नागरिकहरूमा आतङ्क फैलाउने उद्देश्यले हिंसा गर्नु युद्ध अपराध हो ।’
इरान समर्थित हेजबुल्लाह समूहले प्रयोग गरेको सञ्चार उपकरणलाई लक्षित गरी मङ्गलवार र बुधवार भएको विस्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको थियो भने करिब ३ हजार जना घाइते भएका छन् ।
’पेजर’ र ’वाकी–टकी’ विस्फोट हुँदा केही प्रयोगकर्ताहरू सुपरमार्केटमा किनमेल गरिरहेका थिए भने कोही सडकमा हिँडिरहेका थिए । लगातारको विस्फोटको लहरले देशमा आतङ्क निम्त्याएको थियो ।
लेबनानी अधिकारीले आक्रमणका लागि इजरायललाई दोष दिएका छन् । ती सञ्चार उपकरणहरूमा देशमा प्रवेश गर्नुअघि बुबी–ट्र्याप जडान गरिएको बताएका छन् ।
हेजबुल्लाहले इजरायलसँग प्रतिशोध लिने वाचा गरेको छ र विस्फोटको आफ्नै आन्तरिक अनुसन्धान शुरू गरेको छ।
सुरक्षा परिषदमा बोल्दै लेबनानका शीर्ष कूटनीतिज्ञ अब्दल्लाह बोउ हबीबले आक्रमणलाई युद्धको ‘डरलाग्दो तरिका’को रुपमा व्याख्या गरेका छन् ।
‘इजरायलले यस आतङ्कवादी आक्रमणको माध्यमबाट अन्तर्राष्ट्रिय मानवीय कानूनको आधारभूत सिद्धान्तको उल्लङ्घन गरेको छ,’ उनले भने ।
इजरायलले भने उपकरण विस्फोटबारे कुनै टिप्पणी गरेको छैन ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले शुक्रवार बेरुतमा इजरायली आक्रमणपछि लेबनान–इजरायल सीमामा बढेको तनावबारे राष्ट्रसङ्घ चिन्तित रहेको बताएका थिए ।
उनले सबै पक्षलाई अधिकतम संयमता अपनाउन आह्वान गरेका छन् ।