
कोशी प्रदेशसभाका पूर्वसांसद चुमनारायण तवदारको दैनिकी आजकल आफ्नै खेतबारीमा बित्छ । मोरङको बुढीगंगा गाउँपालिका–६ मा रहेको १६ बिगाहा क्षेत्रफलको जग्गामा पोखरी बनाएर उनले माछापालन गरिरहेका छन् ।
प्रदेशलाई माछामा आत्मनिर्भर बनाउने आफ्नो योजना रहेको चुमनारायणले बताए । त्यसका लागि आफूले पैतृक सम्पत्तिलाई सदुपयोग गरेर माछाका भुरा उत्पादन गर्ने काम गरिरहेको उनको भनाइ छ । उनले विसं २०७१ सालबाट विराट कमर्सियल एग्रीकल्चर एन्ड इन्भारमेन्ट प्रालिमार्फत विभिन्न प्रजातिका भुरा उत्पादन गरिरहेका हुन् ।
चुमनारायणले सञ्चालन गरेको फर्मले उन्नत जातका माछाका भुरा उत्पादन गरिरहेको छ । फर्मलाई उनले आकर्षक बनाएका छन् । करिब दुई करोड रुपैयाँको लगानीमा शुरू भएको माछा फर्मसँगै उनको अन्य कृषि कर्म पनि गर्दै आएका छन् । यसले गर्दा फर्ममा अहिले चार करोड रुपैयाँको लगानी पुगिसकेको छ । उनले आठ जनालाई रोजगारी पनि दिएका छन् ।
चोरीनिकासी भएर भारतबाट आउने भुराले सन्तोषजनक उत्पादन नदिइरहेको र माछाको विकास पनि सोचेजस्तो नभएपछि कृषकले घाटा बेहोर्नु परेको उनी बताउँछन् ।
‘कोशी प्रदेशमा व्यावसायिक रुपमा माछापालन गर्ने क्रम बढ्दो छ । तर उन्नत जातका भुरा नभएपछि उत्पादन सोचेजस्तो हुँदैन,’ उनले भने, ‘राम्रा भुरा उत्पादन गरेर पूर्वका किसानलाई माछामा आत्मनिर्भर बनाउन मैले भुरा उत्पादनमा जोड दिएको हुँ ।’ उनले फर्ममै माछा विज्ञ राखेका छन् । ती विज्ञले किसानहरूलाई निःशुल्क सल्लाह दिने गरेका छन् । किसानलाई समेट्दै भविश्यमा १०० बिगाहा जग्गामै माछापालन र अन्य कृषि कर्म गर्ने योजना उनले बनाएका छन् ।
चुमनारायणले माछा ह्याचरी केन्द्रका लागि करिब ३५ लाख रुपैयाँ लगानी गरेका छन् । उनको फर्ममा सरकारी अनुदानसमेत रहेको छ । उनले आफ्नो फर्ममार्फत व्यावसायिक रुपमा शुरू गरेको माछा, बंगुर, बाख्रा र कुखुरा पालन तथा कागती खेती निकै लोभलाग्दो छ । फर्मबाट सबै प्रजातिका माछाका भुरा उत्पादन गरी किसानलाई सहज र सहुलियत दरमा उपलब्ध भइरहेको उनले बताए । फर्मनजिक जग्गा भाडामा लिएर वार्षिक रुपमा लगानी थप्दै स्थानीय किसानलाई माछा पालनमा आकर्षित गर्ने योजना रहेको उनले सुनाए ।
चुमनारायणले अहिले २३ वटा पोखरीमा माछापालन गरिरहेका छन् । झिँगे, लोकल लगायतका माछाको संरक्षण पनि थालिएको उनको भनाइ छ । उनको माछा फर्ममा रहु, नैनी, भाकुर, सिल्भरकार्प, विगहेडकार्प, ग्रासकार्प, कमनकार्प, पुन्टियस, टिलापिया, पंगासीयस र रेन्बोट्राउट माछाका भुरा उत्पादन भइरहेका छन् ।
फर्ममा बाख्रा, कुखुरा, टर्की लगायतका विभिन्न प्रजातिका पशुपंक्षीहरू पालिएका छन् । फर्मलाई विस्तार गर्दै अरू कृषकलाई पनि कृषि कर्ममा जोड्ने योजना रहेको उनले सुनाए । चुमनारायणले लोपोन्मुख स्थानीय बंगुर पनि पालिरहेका छन् । १६ बिगाहामध्ये ६ बिगाहामा पोखरी खनेका छन् । खाली जग्गामा आँप, कटहर र कागती पनि रोपेका छन् । कृषि होमस्टेको योजना अगाडि बढाउने योजना रहेको उनले बताए । तर काम गर्ने जनशक्तिको भने अभाव रहेको उनले सुनाए ।
माछा फर्म पहिले चुमनारायणसँगै नौ जनाले शुरू गरेका थिए । अहिले पाँच जनाको मात्र लगानी रहेको उनले बताए । चौथो वर्ष भयो उनले भुरा उत्पादन गरेको । कोशी प्रदेशमा नश्ल सुधार गरेर माछाका भुरा उत्पादन गर्ने आफू पहिलो व्यक्ति भएको उनले दाबी गरे । भैरहवाबाट नश्ल सुधार गरेका माछाका भुरा ल्याएको उनले बताए । प्रतिगोटा ४४५ रुपैयाँको माछा ल्याएको उनले जानकारी दिए । यी माछाका भुराले तीन वर्ष पालेपछि मात्रै उत्पादन दिने उनको भनाइ छ । अहिले नश्ल सुधारका भुराको माग अत्यधिक माग भएको त्यसलाई आफूले पूर्ति गर्न नसकिरहेको उनले बताए ।
केही वर्षअघिसम्म पूर्वका बजारमा भारत तथा तेस्रो मुलुकबाट आयात हुने माछाको खपत धेरै हुने गरेको थियो । गत आर्थिक वर्षमा पाँच टन माछा र एक करोड अण्डा उत्पादन भएको चुमनारायणले बताए । यसअघि पूर्वका किसानहरूले सिराहाको लहान र उदयपुर आदि जिल्लाबाट माछाका भुरा ल्याउनु पर्दथ्यो । अहिले त्यो समस्या हटेर गएको उनले दाबी गरे । निकट भविष्यमा आफूले सञ्चालन गरेको कृषि फर्मलाई कृषि पर्यटकस्थलको रुपमा विकास गर्ने लक्ष्य रहेको उनले सुनाए ।
पुर्खाको पेसा नै कृषि भएकाले आफूले पनि परम्परागत रुपमा फर्म शुरू गरेको र पछि आधुनिक बनाउँदै स्थानीयलाई कृषितर्फ आकर्षित गरिरहेको चुमनारायण बताउँछन् । ‘आधुनिक फर्ममार्फत् माछाको भुरा उत्पादनमा जोड दिइरहेको छु । कम्तीमा कोशी प्रदेशलाई माछामा आत्मनिर्भर बनाउन दिनरात काम गरिरहेको छु,’ उनी भन्छन् । सरकारले कृषिलाई प्राथमिकता निर्धारण गरे पनि त्यसअनुसार योजना र नीति नबनाउँदा किसानहरूले फाइदा लिन नसकेको उनको गुनासो छ । ‘यसले गर्दा कृषिमा किसानहरू आकर्षित हुन सकेका छैनन् । यद्यपि प्रदेशभरमा सबैभन्दा धेरै माछाका भुरा उत्पादन गर्ने फर्मको रुपमा स्थापित हुने प्रयत्नका साथ लगानी गरिरहेको छ,’ उनले थपे ।
सरकारले उचित योजना र नीति नबनाएकै कारण नेपाल कृषिमा आत्मनिर्भर बन्न नसकेको चुमनारायणको निष्कर्ष छ । फर्म खोलेको ठाउँमा बिजुली पाउनै चार वर्ष लागेको उनले गुनासो गरे । ‘सरकारले किसानलाई अनुदान त दिन्छ,’ उनले भने ‘तर अनुदान दिएका फर्महरूको अनुगमन हुँदैन । यसले गर्दा धेरै फर्म अनुदानमा मात्रै सीमित भएका छन् ।’ अनुदानमुखी कृषि नबनाऊँ भनेर विगतमा आफूले सदनमा बालेको पनि उनले स्मरण गरे । उत्पादन गरेका बस्तुको बजारीकरण, बिउ, मलमा छुट र बिजुलीमा सौलियत दिँदा धेरै किसान उत्पादनमा जोडिने उनको भनाइ छ । राजनीति सेवा भएकाले सरकारमा बस्नेहरूले यसलाई कमाइ खाने थलो बनाउनु नहुने उनको तर्क छ ।
यस्तो छ विगतः
चुमनारायण २०५४ सालमा नेपाली कांग्रेसबाट विराटनगर– ५ को वडाध्यक्ष भएका थिए । हाल उक्त वडा विराटनगर ४ मा पर्छ । उनका बुवा कुनैबेला अक्षेलाल जिल्ला पञ्चायतको सभापति भएका थिए । त्यतिबेला काकाका छोराहरू राजनीतिमै रहेकाले आफू पनि त्यसैमा होमिएको चुमनारायणले बताए । त्यतिबेला उनले र विश्वनाथ रिजालले मात्रै वडाध्यक्ष जितेका थिए ।
चुमनारायण विजयकुमार गच्छदार निकटका हुन् । गच्छदारले कांग्रेस छोडेर मधेशी जनाधिकार फोरममा गए । पछि फोरम (लोकतान्त्रिक) बनाए । चुमनारायणले प्रतिनिधिसभाको उपनिर्वाचनमा कांग्रेसका डा शेखर कोइरालासँग प्रतिस्पर्धा गरेका थिए । तर पराजित भए ।
फेरि गच्छदार कांग्रेसमै फर्किएपछि चुमबहादुर पनि त्यतै गए । योभन्दा अघिल्लो पटकको निर्वाचनमा उनी मोरङ क्षेत्र नम्बर ६(२)को सांसदमा निर्वाचित भएका थिए ।