
प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागले नेपाल प्रहरीका ४१ जना एसपी र १४३ जना डीएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर लागुऔषधसम्बन्धी कार्यशाला गोष्ठीमा सहभागी हुने शिलशिलामा ग्रीसमा रहेकाे बेला विभागका एआईजी भीम ढकालले प्रहरी अधिकृतको सरुवा गरेका हुन् ।
यो सरुवामा निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईको असहमति हुँदाहुँदै ढकालले गृहमन्त्री रमेश लेखकसँगको सहकार्यमा सरुवा गरेको बताइएको छ । आईजीपी कुँवरले एक साताअघि नै बुझाएको सरुवा सूची संशोधन गर्दै गृहमन्त्री लेखकले सरुवा सूची निकाल्न एआईजी ढकाललाई निर्देशन दिएसँगै सरुवा ले वैधानिकता पाएको हो ।
आईजीपी कुँवरले जिल्लामा एसपी र इलाका प्रहरी कार्यालयमा डीएसपी पठाउँदा उनीहरूको ट्रयाक रेकर्ड हेरेर मात्रै पठाउनुपर्ने राय गृहमन्त्री लेखकलाई दिएका थिए । गृहमन्त्री लेखकले आईजीपी कुँवरलाई भने उनी ग्रीसबाट फर्केपछि मात्रै सरुवा सूची निकाल्ने आश्वासन दिएका थिए ।
सरुवा सूची निकाल्नुअघि आईजीपीसँग अनिवार्य परामर्श गर्नुपर्ने दायित्वबाट विमुख हुँदै एआईजी ढकालले गृहमन्त्री लेखकको निर्देशनलाई अक्षरश: पालना गर्दै सरुवा गरेका हुन् ।
स्रोतले भन्यो, ‘सरुवा सूचीमा निमित्त प्रहरी महानिरीक्षक राईको नोट अफ डिसेन्ट थियो । तर ढकालले गृहमन्त्रीको निर्देशन भनेर एसपी र डीएसपीको सरुवा गरेका छन् ।’
सरुवा सूचीमा अहिले सहकारी ठगीको अनुसन्धान गरिरहेका एसपी मोहनकुमार थापा र आफ्नै हिरासतबाट थुनुवा भागेपछि छानबिन समितिको संयोजक बनेका जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जनकुमार अवासमेत सरुवामा परेका छन् । यसले पनि यो सरुवा हतासमा गरेको जानकारहरू बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुखसमेत रहेका एसपी थापाको सहकारी ठगीसँगै संगठित अपराधबारे पनि अनुसन्धान गरिरहेका थिए ।
‘आईजीपी देशबाहिर रहेका बेला यति धेरै सुरक्षा अधिकारी सरुवामा परेको यो पहिलो घटना हो,’ निमित्त आईजीपी राईले लोकान्तरसँग भने, ‘यो सरुवा मलाई नै थाहा छैन । मैले प्रहरी महानिरीक्षक आएपछि मात्रै सरुवा निकालौं भन्दा एआईजी ढकालले मलाई बाइपास गरे ।’
सरुवा सूचीमा विवादास्पद एसपी र एआईजीहरूको समेत सूची समावेश भएको प्रहरी मुख्यालय स्रोत बताउँछ । मुख्यालय स्रोतले भन्यो, ‘डीएसपी र एसपी सरुवाको अधिकार आईजीपीलाई भएपनि गृहमन्त्रीको प्रत्यक्ष हस्तक्षेपले गर्दा राइट म्यान राइट प्लेसको अवधारणा यो सरुवाले खण्डित गरेको छ ।’
मंगलवार मात्रै निमित्त आईजीपी राईले देशभरका प्रहरी युनिट इन्चार्जहरूलाई सम्बोधनका क्रममा ‘आईजीपी कुँवर नेपाल फर्किएपछि मात्रै सरुवा प्रक्रिया अगाडि बढ्छ ढुक्कले काम गर्नुस्भ’ नेका थिए । तर एकाएक सरुवा सूची निस्केपछि राई झस्किएका छन्।