
प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर (एबीसी)को प्रवेशद्वार घान्द्रुक जाने प्रमुख सडक साढे दुई महिनापछि खुलेको छ ।
नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकको अन्नपूर्ण–१० किलुमा गत असार २० गते पहिरोले अवरुद्ध भएको थियो ।
सो सडक मङ्गलबारदेखि पूर्णरूपमा सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालयका प्रमुख सोभियत खड्काले जानकारी दिए ।
पहिरोले सडक अवरुद्ध हुँदा स्थानीयवासी समस्यामा परेका थिए ।
सडक नखुल्दा गाउँमा पर्यटकीय गतिविधि पनि प्रभावित भएको र पोखराबाट घान्द्रुकसम्मको सिधा यातायात सम्पर्क टुटेको थियो ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कास्कीको आर्थिक सहयोगमा सडक मर्मत गरिएको हो ।
पूर्वाधार विकास कार्यालयको रु २५ लाख र रु दुई लाख २५ हजार स्थानीय जनश्रमदानबाट गरी रु २७ लाख २५ हजार लगानीमा सडक मर्मत गरिएको कार्यालयका प्रमुख खड्काले बताए ।
'सडकको बीचको भाग भासिँदा एकतिरको गाडी अर्कोतिर जान नसक्ने समस्या थियो । घान्द्रुक जाँदा आधा बाटोसम्म एउटा गाडीमा जाने र त्यसपछि पारिपट्टि रहेको गाडी प्रयोग गर्नुपर्ने बाध्यता थियो । भिरबाट ग्याबिन जालीसहित पर्खाल लगाएर सडक मर्मत गरेका छौं,' उनले भने ।
अन्नपूर्ण गाउँपालिका– १० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुक बसपार्कसम्म अब गाडी सजिलै जाने र लामो समयदेखिको अवरोध हटेको बताए ।
पर्यटकको आगमन बढ्ने समयमा सडकको अवरोध हटेकामा घान्द्रुकका पर्यटन व्यवसायी उत्साही छन् ।
घान्द्रुकका पर्यटन व्यवसायी अमृत गुरुङले गाउँले र पर्यटकले आवतजावतमा समस्या भोग्नुपरेका समस्या समाधान भएको भन्दै खुसी व्यक्त गरे ।