
नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगीमा क्लिनचिट पाएको भन्नु अनुचित रहेको बताएका छन् । लामिछानेले अनुसन्धान प्रभावित गर्न खोजेको समेत पोखरेलले आरोप लगाएका छन् ।
बुधवार बिहान कैलालीको धनगढीमा प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले सहकारी ठगीमा क्लिनचिट पाए भन्ने लामिछानेको दाबी झुटो भएको बताएका हुन् ।
‘क्लिनचिट त्यतिबेला प्राप्त हुन्छ, जतिबेला अनुसन्धानको प्रक्रियामा प्रवेश गरेर सफाइ प्राप्त हुन्छ’ उनले भने, ‘त्योभन्दा पहिला हल्ला गरेको भरमा कसैले क्लिनचिट प्राप्त हुँदैन ।’
पोखरेलले सहकारीको रकम ल्याएर मिडियामा दुरूपयोग गर्ने कुरालाई कुनै पनि अर्थमा उचित मान्न नसकिने बताए । गोरखा मिडियाका एकजना सञ्चालक छविलाल जोशीलाई पक्राउ गरेर अनुसन्धान शुरू भएको र त्यो प्रक्रिया अगाडि बढ्ने उनले बताए ।
‘फरार अभियुक्त (जीबी)बाट सबै कुरा बुझ्न सम्भव छैन । छविलाल जोशी एकजना साझेदार र बिचमा कुरा नमिलेपछि साझेदारीबाट बाहिरिएका व्यक्तिबाट अनुसन्धान शुरू भएको छ’ पोखरेलले भने, ‘अनुसन्धानले सत्यतथ्य उजागर गर्छ, कतिबेला अगाडि बढ्छ भन्ने नेपाल प्रहरीको विषय हो । राज्यले सम्बन्धित निकायलाई जिम्मा दिएपछि प्रहरीको विषय हो, राज्यले यसमा चासो राख्ने या हस्तक्षेप गर्ने कुरा हुँदैन ।’
लामिछानेले सहकारी ठगी छानबिन समितिले आफूलाई सफाइ दिएको दाबी गरिरहेका छन् । तर सो दाबी सत्य नभएको संसदीय छानबिन समितिका सभापति सूर्य थापाले बताइसकेका छन् ।