२२ जेठ २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

एकदिवसीय वरीयतामा नेपालको स्थान खस्कियो, विदेशी नागरिक वारिस हुन पाउने फैसला

असोज १०, २०८१
काठमाडौं
एकदिवसीय वरीयतामा नेपालको स्थान खस्कियो, विदेशी नागरिक वारिस हुन पाउने फैसला

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ ।
अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले मंगलवार यस्तो अनुमति दिइएको जानकारी दिए ।
साइबर ब्यूरोबाट खटिएको टोलीले उनलाई आइतवार दिउँसो भक्तपुरबाट पक्राउ गरेको थियो ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा ज्ञानेन्द्र गिरीविरुद्धको मुद्दामा पुनरावेदन दर्ता गराएको छ ।

गिरीको मुद्दामा विशेष अदालतबाट भएको फैसला आयोगलाई चित्त नबुझी बुधबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
००००
अर्थ मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयलाई विशेष ध्यान दिएर अर्थ मन्त्रालयका नीति तथा कार्यक्रम र गतिविधिमा समावेशगरी अघि बढाउने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयमा बुधबार बसेको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले अर्थ मन्त्रालयले एक दिनमा गर्ने कार्यक्रममा पनि न्यूनतम साझा कार्यक्रममा उल्लेखित विषयलाई समावेशगरी कार्यान्वयन गर्ने निर्णय गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ ।
००००
सूर्यविनायक नगरपालिकाले वडा नं ९ र १० को सिमानामा अवस्थित झोलुङ्गे पुलमा अराजक गतिविधि गर्ने महिलालाई पक्राउगरी कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएको छ ।     

आफूलाई सामाजिक अभियन्ता भन्दै सार्वजनिक सम्पत्तिमा हस्तक्षेप गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने आशिका तामाङलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरीवृत्त जगातिमा जोहरी दिएको नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले बताए ।
००००
अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसिसीले)ले सार्वजनिक गरेको एकदिवसीय नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ । 
आइसिसीको नयाँ वरीयताका अनुसार नेपाल एक स्थान तल झर्दै १७औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १६औँ स्थानमा थियो ।
 क्यानडामा भएको आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ओमान र क्यानडाविरूद्धको खेलमा नेपाल जितविहीन बनेको थियो ।
००००
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको विश्वव्यापी परियोजना ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआइ)लाई नेपाल राष्ट्र र जनताको अधिकतम् हितमा सदुपयोग गर्ने सन्दर्भमा गहिरो चिन्तन गर्न जरुरी रहेको बताएका छन् । 

चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन)को सहकार्यमा नेपाल–चीनमैत्री युवा सङ्घ र फ्रेण्डसीप फोरम फर नेप्लिज जर्नालिष्टले बुधबार आयोजना गरेको ‘बिआरआई अवसर र चुनौती’ विषयक कार्यक्रममा अध्यक्ष दाहालले उक्त परियोजनालाई नेपाल र नेपाली जनताको भाग्य र भविष्यसँग जोड्नुपर्ने बताए ।
००००
भुटानमा जारी साफ यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा आज भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले भुटानलाई २–१ को गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
००००
चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन गरेको अभियोगमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी राई)सहित १७ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

सहकारी ठगी कसुरमा उनीहरूविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको हो ।

उक्त सहकारीको अध्यक्षसमेत जीबी राई नै थिए । अभियोग पत्रमा राईसहित सागर केसी, हेमन्त राई, भूपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगरको संलग्नमा सहकारीको रकम अपचलन गरिएको दाबी गरिएको छ ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४९.५७ अंकले बढेको छ । 

बुधवार नेप्से ४९.१८ अंकले बढेर २५१९.५७ को बिन्दुमा अडिएको हो । यस दिन बजारमा १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँको कारोबार भएको छ ।  
००००
ललितपुर जिल्ला अदालतले विदेशी नागरिक वारिस हुन पाउने फैसला गरेको छ ।

दूषित वारिसनामा बदरको मुद्दामा न्यायाधीश पुनाराम खनालको इजलासले विदेशी नागरिकलाई वारिस हुन पाउने बाटो खुला गरिदिएको हो ।
००००
नेपाल बार एशोसिएसन विभिन्न माग राखी आन्दोलनमा उत्रिएको छ । बारमा आबद्ध अधिवक्ताहरूले बुधवार काठमाडौंको रामशाह पथस्थित कार्यालयअगाडि आन्दोलन गरेका हुन् । 

उनीहरूले न्याय परिषद् नियमावलीमा भएको गैरसंवैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज गर्न माग राखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्