
इजरायली सेनाले लेबनानमा प्रवेश गरेर स्थल मार्गबाट पनि आक्रमण गर्ने योजना बनाएको छ । इजरायली सेना प्रमुखले स्थलमार्गबाट लेबनानमै पुगेर आक्रमण गर्न सक्ने संकेत गरेको बीबीसीले जनाएको छ । 'हवाई आक्रमणले शत्रुको क्षेत्रमा प्रवेश गर्ने बाटो खोल्न सक्छ,' लेफ्टिनेन्ट जनरल हजरी हेलेवीले आफ्ना सैनिकहरूलाई भनेका छन्, 'तपाईंले लडाकु विमानको आवाज सुन्नुभयो । दिनभर हमला गरिरह्यौं । यसको उद्देश्य लेबनानमा प्रवेशको लागि सम्भावित बाटो खोल्नु र हिजबुल्लाहलाई लक्षित गर्नु हो।'
लेबनानका स्वास्थ्य मन्त्रीले सेप्टेम्बर २५ मा भएको हवाई हमलामा ५० जनाको मृत्यु भएको बताएका छन् । इजरायलका अनुसार यी आक्रमणमा हिजबुल्लाहको गुप्तचर निकाय, लन्चर र हतियार भण्डारण स्थललाई निशाना बनाइएको थियो ।
बढ्दो द्वन्द्व रोक्न कूटनीतिक तहमा पहल पनि भइरहेको छ । फ्रान्स र अमेरिकाले २१ दिने युद्धविरामको प्रस्ताव गरेका छन् । अमेरिका, युरोपेली संघ र बेलायतजस्ता ११ सहयोगी राष्ट्रहरूले राष्ट्रहरूले अस्थायी युद्धविराम कार्यान्वयन गर्न माग गरेका हुन् ।
सहयोगी राष्ट्रहरूले आफ्नो संयुक्त विज्ञप्तिमा यी देशहरू (इजरायल, लेबनान, प्यालेस्टाइन) बीचको दुश्मनी अहिले असह्य भएको बताएका छन् ।
अमेरिकालगायत इजरायलका सहयोगीहरूले यस क्षेत्रमा युद्धको अवस्था नहोस् भनेर काम गरिरहेको बताएका छन् । केही समयका लागि दुई पक्षबीच युद्ध नहोस् भनेर धेरै वरिष्ठ अमेरिकी अधिकारीहरूले यस दिशामा काम गरिरहेको धेरै मिडिया रिपोर्टहरूमा भनिएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग छुट्टाछुट्टै भेट गरेका छन् । सो भेटमा दुई नेताबीच युद्धविरामका लागि पहल गर्ने विषयमा छलफल भएको थियो ।
वार्ताको केही समयपछि फ्रान्सले दुवै देशले वार्ताका लागि समय मिलाउन २१ दिनका लागि अस्थायी युद्धविरामको प्रस्ताव गरेको बताएको थियो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धविराम तत्काल कार्यान्वयन गर्न अपिल गर्दै स्थिति नियन्त्रण बाहिर गइरहेको बताएका छन् ।
हिजबुल्लाहले इजरायलको गुप्तचर एजेन्सी मोसादमा मिसाइल आक्रमण गरेको बताएको छ । यो मिसाइल तेल अभिभमा खसेको थियो । धेरै जनसंख्या भएको क्षेत्रमा हिजबुल्लाहले आक्रमण गरेको यो पहिलो पटक हो ।
यद्यपि, वायुसेनाले मिसाइललाई रोकेको थियो । जसका कारण कसैको मृत्यु भएको कुनै रिपोर्ट छैन । इजरायली सेनाले उक्त मिसाइल लन्चरलाई हवाई आक्रमणमा खसालिएको बताएको छ ।
हिजबुल्लाहले पनि उत्तरी इजरायलमा दर्जनौं रकेट प्रहार गरेको छ। जसमा दुई जना घाइते भएका छन् ।
सेप्टेम्बर २३ देखि इजरायलको कारबाहीमा हालसम्म ६०० भन्दा बढी मानिस मारिएका छन् । इजरायलले सन् २००६ को युद्धपछि निर्माण गरिएका हिजबुल्लाहका अड्डाहरू ध्वस्त पार्न आफ्नो हवाई हमला शुरू गरेको बताएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार यस द्वन्द्वमा लेबनानका करिब ९० हजार मानिस नयाँ ठाउँमा बसोबास गर्नु परेको छ । द्वन्द्व शुरू हुनुअघि करिब एक लाख मानिस घरबार छोड्न बाध्य भएका थिए । करिब ४० हजार मानिस शिविरमा बसिरहेका छन् ।
इजरायल र हमास युद्ध भएको एक वर्ष पूरा भएको छ । यस अवधिमा इजरायलको उत्तरी क्षेत्रका करिब ७० हजार मानिसहरू पनि अन्यत्र बसोबास गर्नु परेको थियो ।
हिजबुल्लाहले हमासको समर्थनमा इजरायलमा आक्रमण गरिरहेको बताएको छ । गाजामा युद्धविराम नभएसम्म यो नरोक्ने हिजबुल्लाहले बताएको छ । हमास र हिजबुल्लाह दुवैलाई इरानको समर्थन छ । दुवै संगठनलाई इजरायल, बेलायत र केही अन्य देशहरूले आतंकवादी संगठन मान्छन् ।
हालै लेबनानमा पेजर र वाकीटकीहरूमार्फत धेरै विस्फोटहरू गरिएको थियो । यी यन्त्रहरू लेबनानी सदस्यहरूले सञ्चार गर्न प्रयोग गरेका थिए । यी आक्रमणमा करिब ३९ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा बालबालिका र सर्वसाधारण पनि थिए ।
यी आक्रमणको पछाडि इजरायलको हात रहेको अनुमान गरिएको छ । यी आक्रमणहरूपछि इजरायलले दहिहमा आक्रमण गरेको थियो, जहाँ हिजबुल्लाहको बलियो उपस्थिति थियो । हिजबुल्लाहले उक्त हमलामा शीर्ष सैन्य नेता इब्राहिम अकिलसहित ५५ जनाको ज्यान गएको बताएको थियो ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । जसमा करिब १२०० इजरायली मारिएका थिए ।
त्यसपछि इजरायलले गाजा र वेस्ट बैंकमा आक्रमण गर्न थालेको हो । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हमलामा हालसम्म ४० हजारभन्दा बढी मानिस मारिएका छन्। मारिनेमा ठूलो संख्यामा बालबालिका र महिला रहेका छन् ।