०७ असार २०८३, आइतबार

‘उत्कृष्ट काम गरेको’ भन्दै पुरस्कृत भएकी इन्सपेक्टर शाहीमाथि घुस लिएको आरोप

असोज १०, २०८१
काठमाडौं
‘उत्कृष्ट काम गरेको’ भन्दै पुरस्कृत भएकी इन्सपेक्टर शाहीमाथि घुस लिएको आरोप

प्रहरी प्रभाग भैँसीपाटीकी  प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनु शाहीमाथि मुद्दा मिलाइदिन्छु भनेर घुस लिएको आरोप लागेको छ । 

एक व्यवसायीविरुद्ध एक युवतीले ठाडो उजुरी दिएको घटनामा लेनदेन गरेर मुद्दा मिलाइदिन्छु भन्दै ३० लाख रुपैयाँ लिएको आरोप उनीमाथि लागेको हो । 

सानागाउँमा बस्ने एकजना व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउने’ त्रास देखाएर रकम असुलेको घटनाबारे ललितपुर प्रहरीले समेत छानबिन थालेको छ । आफूसँग रकम असुल्न  इन्स्पेक्टर  शाहीले पनि मिलेको ती घरजग्गा व्यवसायीले आरोप लगाएका छन् ।   

इटहरीमा बस्ने एकजना महिलाको खातामा २० लाख नगद र १० लाखको चेक दिएर ‘बलात्कार मुद्दा’ लाग्नबाट आफू बालबाल जोगिएको ती व्यवसायीले बताएका छन् । ती युवतीको उजुरीपछि पक्राउ परेका घरजग्गा व्यवसायीसँग निवेदक पक्षले ३० लाख असुलेका हुन् ।

छलफल गरेपछि दुवै पक्षले मिलापत्र गरेका थिए । तर, विवाद त्यहीँ सकिएन । विवाद अहिले जिल्ला प्रहरी परिसर जावलाखेलमा पुगेको छ । 

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले घटनाको छानबिन समिति बनाएर अनुसन्धान भइरहेको लोकान्तरलाई बताए । ‘छानबिन समिति गठन भएको छ । समितिको प्रतिवेदन आएपछि मात्रै थप भन्न सकिन्छ,’ उनले भने । 

जिल्ला प्रहरी परिसर ललितपुरले उत्कृष्ट काम गरेको भन्दै इन्सपेक्टर शाहीलाई दुई दिनअघि मात्रै पुरस्कृत गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्