०७ असार २०८३, आइतबार

बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने सरकारको तयारी

असोज १०, २०८१
धनुषा
बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने सरकारको तयारी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको ‘ड्रिमप्रोजेक्ट’ अर्थात् राष्ट्रिय गौरवको आयोजना रेल सेवालाई महोत्तरीको बर्दिबाससम्म सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् । 

धनुषाको मिथिला नगरपालिका–१० लालगढमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले विजलपुरादेखि बर्दिबाससम्म भारतीय अनुदानमा बन्ने रेल सेवाका लागि आवश्यक भौतिक संरचना जग्गा अधिग्रहण हुन नसक्दा समयमा निर्माण हुन नसकेको बताए । मन्त्री दाहालले भने, “जग्गाको यथार्थ म आफैँ गएर बुझेँ, त्यहाँ बस्ने मान्छेको नाममा जग्गा छैन । जग्गाको लालपुर्जा नहुँदा मुआब्जा दिन समस्या भएको हो । लालपुर्जा भएको जग्गाको मूल्यअनुसार ऐलानी जग्गाको मुआब्जा दिन मिल्दैन ।”

उनले मुआब्जा दिन नसके पनि जोतभोग गर्दै आएका व्यक्तिले जग्गा खाली गर्न सहमत भएमा क्षतिपूर्ति दिन सकिने बताए । मुआब्जा अडान लिँदा बर्दिबाससम्म रेल ल्याउने भौतिक संरचना बनाउन समस्या भएको मन्त्री दाहालको भनाइ छ ।

मन्त्री दाहालले कमला पुल तयारगरी हुलाकी सडक सञ्चालन सरकारको प्राथमिकतामा रहेको बताए । 

उनले कमला नदीमा रहेको पुरानो पुललाई मर्मत गर्ने या नयाँ पुल बनाउने विषयमा प्रविधिकले अध्ययन गरिरहेको जानकारी दिए । 
    
मन्त्री दाहालले दसैँ तिहार लक्षित गरेर सडकलाई सहज बनाउने अभियान थालिएको बताए । दुई साताभित्र निर्माण भइरहेको सडकमा सहज रुपमा आवतजावत गर्नसक्ने बनाउन निर्माण कम्पनीलाई निर्देशन दिइएको उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्