२० असार २०८३, शनिबार

नागढुंगा सुरुङ मार्गनजिकै पहिरो : पृथ्वी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

असोज ११, २०८१
काठमाडौं
नागढुंगा सुरुङ मार्गनजिकै पहिरो : पृथ्वी राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

धादिङका दुई स्थानमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ ।

धुनिवेशी नगरपालिका– ९ ले छोएको राजमार्गमा शुक्रबार दिउँसो हिलो र लेदोसहितको पहिरोले सडक अवरुद्ध बनेको हो । अवरुद्ध राजमार्गका कारण सयौं यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी निरीक्षक प्रह्‍लाद सिलवालका अनुसार उक्त सडक दुई घण्टादेखि अवरुद्ध बनेको हो ।

त्यस्तै धादिङको सिम्लेमा पनि सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको उनले जानकारी दिए ।

‘नागढुंगा सुरुङ मार्गनजिकै माथिबाट आएको पहिरोले दुई घण्टादेखि दुईतर्फी राजमार्ग बन्द भएको छ,’ सिलवालले लोकान्तरसँग भने, ‘सिम्लेमा पनि आधा घण्टा अघि सुक्खा पहिरो गएर सडक अवरुद्ध भएको सूचना आएको छ ।’

दुई सडक खण्डमा स्थानीय तह, सडक विभाग र सुरक्षाकर्मीले एक्साभेटरको सहायताले पहिरो पन्छाउने काम भइरहेको जानकारी निरीक्षक सिलवालले दिए ।

उनका अनुसार पानी परिरहेकाले पहिरो पन्छाउने बित्तिकै पुन माथिबाट खस्ने समस्या देखिएको छ ।

सडक सञ्चालनमा ल्याउन केही समय लाग्ने देखिएको उनले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्