२९ जेठ २०८३, शुक्रबार
सुन तस्करी

६० किलो सुन तस्करी प्रकरणः ७ जनालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

असोज ११, २०८१
काठमाडौं
६० किलो सुन तस्करी प्रकरणः ७ जनालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले करिब ६० किलोग्राम सुन तस्करी प्रकरणमा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनबाट पुर्पक्षका लागि थुनामा पठाइएका ७ प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ ।   

शुक्रवार न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासले प्रतिवादी बनाइएकामध्ये ७ जना आरोपितको निवेदनमा अन्तिम सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश गरेको हो । 

सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार ७ जना प्रतिवादीको निवेदनमा धरौटी माग गर्ने आदेश भएको हो । सुन तस्करी प्रकरणमा दुवै अदालतले थुनामा पठाएपछि त्यसविरुद्ध उनीहरूले सर्वोच्चमा निवेदन दर्ता गरेका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले २०८० असोज १ गते दावाजिन वाङलाई मुख्य अभियुक्त दाबी गर्दै २९ जनाविरुद्ध ५ वटा मुद्दा दायर गरेको थियो । सङ्गठित अपराधसहितको दाबी अभियोगपत्रमा गरिएको थियो ।

उनीहरूसँग करिब ३ अर्ब ५० करोड ३० लाख ९१ हजार ९७५ रुपैयाँ बिगो, कैद र जरिवाना हुनुपर्ने माग अभियोगपत्रमा  गरिएको थियो । उक्त मुद्दा जिल्ला अदालत काठमाडौंमा अझै विचाराधीन छ । 

सर्वोच्चले कुमार ढकाल, सन्तोष चन्द, रामकुमार भुजेल, सरोज श्रेष्ठ, राजेन्द्रकुमार राई, किशोर बस्नेत र शिवकुमार सर्राफको निवेदनमा अन्तिम निर्णय सुनाएर थुनामा पठाउने निर्णय बदर गर्दै धरौटी माग गरेको हो । 

सीआईबीले अन्तरदेशीय सङ्गठित गिरोहमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको तस्करीको सुन प्रकरणमा भन्सारका ५ कर्मचारी र ९ विदेशी नागरिकसहित २९ जनाविरुद्ध साढे ३ अर्ब रुपैयाँ बिगो कायम गरेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । 

अभियोगपत्रमा ११ महिनाको अवधिमा ब्रेक शूमा लुकाएर ३६३ किलो सुन तस्करी भएको दाबी गरिएको थियो । मुद्दामा प्रतिवादी बनाइएकामध्ये २६ जना पक्राउ परेका थिए भने ३ जना फरार छन् । फरारहरूको हकमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । प्रतिवादीमध्ये टाँसी भन्ने थुक्तेन छिरिङ, हर्कराज राई, दिलिप भुजेल र सुमन खरेलको हकमा भने सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै कानूनबमोजिम गर्न भनेको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्