
लगातारको वर्षाका कारण पोल ढल्दा सर्लाहीको पूर्वक्षेत्रमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, जिल्लाको पश्चिमी क्षेत्रमा पनि आंशिक रूपमा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रले जनाएको छ ।
जिल्ला सदरमुकाम मलङ्गवाभन्दा पूर्वी क्षेत्रमा पर्ने ब्रह्मपुरी, चन्द्रनगर, पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकाको सबै वडामा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण मलङ्गवा वितरण केन्द्रका प्रमुख उमेशप्रसाद यादवले जानकारी दिए । त्यस्तै, ईश्वरपुर नगरपालिका–१७ सुकनाहामा पनि विद्युत् सेवा अवरुद्ध भएको उनको भनाइ छ ।
ब्रह्मपुरी गाउँपालिको सखुअवामा वर्षाले ११ हजार भोल्टको पोल ढल्दा ब्रह्मपुरी गाउँपालिकाअन्तर्गत पर्ने साबिक ब्रह्मपुरी, नोकैल्वा, पडरिया, सखुअवा, चन्द्रनगर गाउँपालिकाअन्तर्गत पर्ने, बबरगञ्ज, पोखरिया, मोहनपुर, लोदवा, चन्द्रनगर, गढा टोल, नाढीमन, त्यस्तै, पर्सा गाउँपालिकाअन्तर्गत पर्ने, पर्सा, नारायणपुर, सङ्ग्रामपुर, जिङ्गडवा, कविलासा, र हरिपुर्वा नगरपालिकाअन्तर्गत पर्ने हरिपुर्वा, धनकौल, वसन्तपुरलगायत क्षेत्रमा शुक्रबार राती ८ बजेदेखि पूर्ण रुपमा विद्युत् सेवा अवरुद्ध भएको केन्द्रका प्रमुख यादवले जानकारी दिए ।
त्यस्तै, वर्षाले सर्किट सर्ट भई तथा पोल ढलेर ग्रामीण फिडरबाट आपूर्ति हुने जिल्लाको पश्चिम क्षेत्रमा पनि आंशिक रूपमा विद्युत् सेवा अवरुद्ध भएको उनले बताए। “वर्षाले सर्लाहीको ठाउँठाउँमा पोल ढलेर तथा विद्युत् सर्किट सर्ट भएर सेवा अवरुद्ध भएको छ”, प्रमुख यादवले भने, “वर्षाले रातिको समयमा मर्मत गर्न समस्या भएका कारण शनिबार बिहानदेखि मर्मको कार्य सुरु गरिनेछ ।”