
नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रूपमा सम्मानित भएको छ । ४५औँ विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा निगमलाई सम्मान गरिएको हो ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सम्मानपत्र प्रदान गरेका थिए ।
निगमले २०२३ अगष्ट १ तारिखदेखि २०२४ अगष्ट ३१ तारिखसम्म १० करोड ८० लाख ४० हजार ८ सय ७६ अमेरिकी डलर आर्जन गरेको छ । संकलित रकमले देशमा विदेशी मुद्रा सञ्चिती बढाउन उल्लेखनीय योगदान पुर्याएको निगमले जनाएको छ । आगामी दिनमा पनि आफ्नो कारोबार बढाई राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन थप योगदान गर्दै जाने निगमले विश्वास लिएको छ ।
निगमले आफ्ना यात्रुहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवा पुऱ्याउँदै आइरहेको र यस्ता सम्मानबाट निगमको व्यापार बढाउन अझै हौसला मिलेको प्रवक्ता रमेश पौडेलले जारी विज्ञप्तिमा उल्लेख छ ।