
शुक्रवारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी शनिवार दिउँसोसम्ममा काठमाडौं जिल्लामा मात्रै ९ जनाको मृत्यु भएको छ । यस्तै १० जना घाइते भएका छन् भने ६ जना बेपत्ता छन् ।
जसमध्ये ५ जनालाई पहिरोले पुरेको तथा १ जनालाई खोलाले बगाएको काठमाडौं प्रहरीले जनाएको छ ।
हालसम्म १ हजार २४४ घर पहिरो तथा डुबानमा परेको पाइएको छ । बङ्गुर, कुकुर र कुखुरा गरी ७४ वटा पशुचौपाया बगाएको छ ।
यस्तै ८ वटा प्रहरी कार्यालयमा पानी पसेको छ । बाढीपहिरोमा परेका जम्मा ५८९ जनाको उद्धार गरिएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेको कमान्डमा ३ हजार ६० जनाको प्रहरी टोली खटिई उद्धार कार्य जारी रहेको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।