
वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीको निधन भएको छ । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय उपाध्यक्षसमेत रहेका उनको शनिवार पाल्पाको तानसेनस्थित आफ्नै निवासमा निधन भएको हो ।
कार्की लामो समयदेखि मधुमेह र मिर्गाैलाको समस्यासँग जुधिरहेका थिए ।
कार्कीको शनिवार नै बुटवलमा दाहसंस्कार गरिने नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले जानकारी दिए ।
रुपन्देहीका पुराना पत्रकारसमेत रहेका कार्कीले जमर्को, झिल्को र देशान्तर साप्ताहिकमा जोडिएर पत्रकारिता गरेका थिए ।
विसं २०४५ मा कार्कीले दैनिक लुम्बिनीको प्रकाशन शुरू गरेका थिए । कार्की पञ्चायतविरोधी आन्दोलनमा सक्रिय भएर चिनिएकाले तत्कालीन जिल्ला प्रशासनले उनलाई रुपन्देहीमा पत्रिका दर्ता गर्न दिएन । त्यसपछि उनले नवलपरासीको परासीबाट पत्रिका दर्ता गराएका थिए ।
विसं २०११ सालमा जन्मिएका कार्कीले २०३६ सालको जनमत संग्रहपछि पाल्पाबाट पत्रकारिता शुरू गरेका थिए ।