
बागमती प्रदेश सरकारले बाढी तथा पहिरोलगायत विपदबाट पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश सरकारको शनिवार साँझ बसेको आकस्मिक बैठकले विपद्बाट भएको क्षतिको यकिन गरी प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि २०८० बमोजिम प्रदेश सरकारका तर्फबाट विपद्बाट पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
विपदबाट प्रभावित नागरिकहरूलाई थप सहयोगका लागि नेपाल सरकारसमक्ष आग्रह गर्ने निर्णय भएको मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले जानकारी दिए ।
बैठकले अविरल वर्षाका कारण भएको क्षतिका सम्बन्धमा खोज, उद्धार र राहतलाई थप प्रभावकारी बनाउन जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति तथा सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्ने, प्रदेश सरकारका सम्बन्धित मन्त्रालय र निकायहरूले आ–आफ्नो विषयसँग सम्बन्धित क्षतिको विवरण तत्काल सङ्कलन गर्ने निर्णय गरेको मुख्यमन्त्री लामाले बताए ।
विपदबाट घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य उपचारका लागि चिकित्सकीय टोली तथा आवश्यक औषधी तथा उपकरणहरूको व्यवस्थापन प्रदेश स्वास्थ्य मन्त्रालयले व्यवस्था गर्ने, तत्काल नागरिक आवागमन सहज बनाउन अवरुद्ध सडकहरूको मर्मत तथा व्यवस्थापनका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले कार्य प्रारम्भ गर्ने निर्णय गरेको उनले जनाए । –रासस–