
त्रिभुवन राजपथको नौबीसे–नागढुंगा सडक खण्डअन्तर्गत पर्ने झ्याप्ले खोलामा मात्रै २९ जनाको शव फेला परेको छ ।
माथिबाट आएको पहिरोले तीनवटा सवारीसाधन पुरिएको अवस्थामा भेटिएका छन् ।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार झ्याप्ले खोलामा दुईवटा हायस माइक्रोबस र एउटा बस पुरिएको अवस्थामा भेटिएका हुन् ।
‘ हालसम्म झ्याप्ले खोलामा गएको पहिरोमा पुरिएका २९ जनाको शव फेला परेको छ । तीनवटा सवारीसाधन भेटिएका छन्,’ थापाले लोकान्तरसँग भने,‘ अहिले पनि सेना, सशस्त्र प्रहरी र प्रहरीले पहिरो पन्छाएर खोजी कार्य तीव्र पारिरहेका छन् ।’
डीएसपी थापाका अनुसार आइतबार बिहान मात्रै ८ जना पुरुष र २ जना महिला गरी १० जनाको शव पुरिएको स्थानबाट निकालिएको छ ।
शनिबार बिहानै बुटवलबाट काठमाडौंतर्फ आइरहेको विङ्गर हायस पुरिएको थियो ।
उक्त स्थानबाट सशस्त्र प्रहरीले तीनवटा सवारी साधनबाट ८ पुरुष, ५ महिला र १ बच्चा गरी १४ जनाको शव निकालेको थियो । डीएसपी थापा अहिले घटनास्थलमै पुगेका छन् ।