![अविरल वर्षाले खण्डहरमा परिणत भए पनौतीस्थित विहावरका फाँट र बस्तीहरू [फोटो र भिडियो]](https://lktcdn2.prixacdn.net/media/Panauti_Bagar1111_VfBSWuthNg.jpg)
गत बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा अत्यधिक क्षति पुगेको छ ।
अविरल वर्षाका कारण भित्र्याउन भएका धानखेत बगरमा परिणत भएका छन् ।
पनौती नगरपालिकाका वडा नम्बर १ पर्खालचौर आसपास, पनौती ३ को ठूलाखेतसहितका ठूलो फाँटलाई बाढीले बगरमा परिणत गरिदिएको हो ।

अविरल वर्षासँगै लिलावती, घ्याल्कु, न्यूरेखोलासहितका आएको बाढीले फाँट र बस्तीमा ठूलो क्षति गरेका पनौती १ का वडाध्यक्ष जयकुमार लामाले जानकारी दिएका छन् ।
सयौं किसानले भित्र्याउन ठिक्क भएको धानखेत एकाएक बगरमा परिणत भएको लामाले जानकारी दिए ।
‘एक ठाउँ होइन दर्जनौं ठाउँमा किसानले भित्र्याउन लागेको धानखेती बगरमा परिणत भएका छन् । पुल, सडक, खानेपानी, बिजुली, टेलिफोनका पूर्वाधारमा पनि उत्तिकै क्षति पुगेको छ,’ लामाले भने, ‘सयौं रोपनी र खेत र बारी खण्डहरमा परिणत भएको छ ।’

अविरल वर्षाको आएको पहिरोमा परी पनौती १ न्यूरेखोला र पाटपारेमा ३ जनाको मृत्यु भएको छ । एक महिलाको लाश प्रहरीले सोमबार बिहान झिकेको छ । अझै दुई युवतीको लास पहिरोबाट निकाल्न सकिएको छैन ।
अविरल वर्षासँगै आएको बाढीले ५० औं रोपनीमा गरिएको च्याउखेती पनि पुरिएको छ । झण्डै एक सयबाट घर गोठमा पनि क्षति पुगेको छ ।

बाढीले पक्की पुल, सडक पनि बगाएको छ । पहिरोले दर्जनौं ठाउँमा सडक बगाउने र पहिरोले पुरिँदा पनौती–पर्खालचौर–लाकुरीभञ्ज्या्ङ, लुभु सडक खण्ड पनि बन्द भएको छ ।
मानेदोभान– रानिकोट–सूर्यविनायक खण्डमा पनि दर्जनौं ठाउँमा पहिरो गएको छ ।

















फोटो र भिडियो सौजन्य : दीपक खत्री