
मोफसलमा बलियो आईसीटी कम्पनीको रूपमा काम गर्दै आएको टुना टेक्नोलोजी प्रालि कृषि र पर्यटन क्षेत्रलाई लक्षितगरी काम गरिरहेको छ । स्थापनाको छोटो समयमा स्थापित टुनाले ‘एग्रिकल्चर र टुरिजम इन्डष्ट्रिज’लाई प्रवर्द्धन गर्नेगरी प्रोजेक्टहरू ल्याएको छ ।
काठमाडौं बाहिरको पहिलो सूचना प्रविधि उद्योग टुनाले हालै न्यास आईटी अवार्ड पनि जितिसकेको छ ।
स्थापनाको तीन वर्षमा आईटी कम्पनीका विभिन्न क्षेत्रमा काम गरिसकेको टुनाले मोफसलबाट ‘लिड’ गर्ने योजना बनाएको छ । प्रयोगकर्ताको रोजाइमा परेको टुना व्यवसायिक संस्थाहरूलाई आवश्यक पर्ने सफ्टवेयर, वेबसाइट तथा सूचना प्रविधिसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । टुना टेक्नोलोजीका अध्यक्ष गणेशचन्द्र पोखरेल कृषि र टुरिजम क्षेत्रलाई प्राथामिकतामा राखेर काममा जोड दिइएको बताउँछन् ।
‘काठमाडौं बाहिर उदाएको टुना टेक्नोलोजी नेपालको नम्बर वन कम्पनी बनेर स्थापित भइसकेको छ,’ पोखरेल भन्छन्, ‘दक्ष युवा जनशक्तिलाई स्वदेशमा टिकाउन र आईटी अध्ययन गरेका विद्यार्थीलाई इन्टर्न गराउन कम्पनी सफल हुँदै गएको छ ।’
उनले सफ्टवेयर सुरक्षामा विशेष ध्यान दिएको उल्लेख गर्दै सफ्टवेयर र वेबसाइट निर्माणका लागि अब काठमाडौं जान नपर्ने बताए । टेक्नोलोजीका सीईओ राजीव गौतमले बजारको मागअनुसार नयाँ–नयाँ सफ्टवेयर उत्पादनमा जोड दिएको बताए ।
उनले विश्वासिलो, सरल र धेरै सुविधाका लागि होटल व्यवस्थापनको पहिलो एचएमएस रोजाइमा टुना रहेका बताए । कम्पनीको मुख्य ३ वटा सफ्टवेयरहरू टुना ईआरपी, एचएमएस र साझा मेनु बेस रहेका छन । विशेषगरी बजारको माग अनुसार उत्पादन, होटल म्यानेजमेन्ट र डिजिटल मार्केटिङगरी फरक–फरक क्षेत्रका सफ्टवेयर चलेको छ ।
७ करोड लगानीमा २०७८ मा स्थापना गरिएको टुनामा ४० जना कर्मचारी कार्यरत छन । छिट्टै आईपीओ जारीगरी पब्लिक कम्पनी बन्ने तयारीमा छ ।
टेक्नोलोजीका प्रबन्धक ध्रुवराज न्यौपानेले टुनाको उत्पादनबाट डाटा लिकेज हुन कुनै समस्या नभएको स्पष्ट पारे । नेपालभित्र सबै ग्राहकको डाटा सुरक्षित हुने भन्दै सफ्टवेयर डाटा सेन्टर बनाउन ठूलो लगानी गरेको छ । अहिले नै सम्भव नरहे पनि भविष्यमा हुनसक्ने बताए ।
प्लाटफर्म नै सुरक्षित भएकाले ह्याकिङ, स्क्यामको सम्भावना नरहेको भन्दै ग्राहकलाई समेत आवश्यक तालिमहरू दिँदै आएको उनले बताए । टुना टेक्नोलोजीले एसिया प्यासिफिक आइसीटी अलायन्स अवार्डमा सहभागिताका लागि तयारी गरेको छ । आगामी डिसेम्बरमा ब्रनाईमा हुने उक्त प्रतिस्पर्धामा नेपालबाट टुनाले सहभागिता जनाउन पाउने भएको हो ।