३० असार २०८३, मंगलबार

विशेष अदालतका ७ वटा फरक-फरक फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दर्ता

असोज १५, २०८१
काठमाडौं
विशेष अदालतका ७ वटा फरक-फरक फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका विभिन्न मुद्दामा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

कसुर पुष्टि भएको दाबीसहित दायर गरिएका अभियोगमा प्रतिवादीहरूले सफाइ पाएपछि पुनरावेदन गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

उनका अनुसार यातायात व्यवस्था कार्यालय भेरी नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख पवन सुवेदीसहितका प्रतिवादीहरूविरुद्ध दायर गरिएको सर्वोच्चमा पुनरावेदन गरिएको छ । 

आर्थिक वर्ष २०७३/७४ मा सञ्चालित दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्रको लिखित परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनुत्तीर्ण भएका ४ हजार ७१७ जना परीक्षार्थीलाई उत्तीर्ण गराई नतिजा फेरबदल गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको थियो ।

परीक्षा समितिका अध्यक्ष पवन सुवेदीसँगै तत्कालीन शाखा अधिकृतहरू सीताराम खनाल, डेकराज पोखरेल, ध्रुवप्रसाद देवकोटा, नायबबहादुर ओलीसहितलाई आयोगले प्रतिवादी बनाएको थियो ।

२०८० माघ २४ गते विशेषले उनीहरूलाई दिएको सफाइविरुद्ध अख्तियारले २०८१ असोज १३ गते सर्वोच्चमा पुनरावेदन गरेको हो।​​

यसैगरी, दामोदर धमला, भोजराज खतिवडा, अमृतकुमार दाहाल र दिलकुमार बुढाथोकीलगायत प्रतिवादी रहेको अर्को मुद्दाको पनि आयोगले पुनरावेदन गरेको छ ।

४ लाख ७७ हजार ८९९ रुपैयाँ बिगो कायम गरी आयोगले दायर गरेको मुद्दामा विशेषले २०८० फागुन ३० गतेको फैसलाबाट सफाइ दिएको थियो। 

उक्त मुद्दामा टीकाकुमार धमला, दीपकप्रसाद धमला, कोठीमाया मगलाई पनि आयोगले प्रतिवादी बनाएको थियो। 

यस्तै, नेपाल विद्युत् प्राधिकरण ओखलढुङ्गा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव शाह र भण्डार प्रमुख वीरबहादुर राई, नमामी सप्लायर्सका प्रोप्राइटर सञ्जीवकुमार यादवलाई समेत भ्रष्टाचारको मुद्दा दायर गरिएको थियो।

यसैगरी, कृषि ज्ञान केन्द्र हुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख रामसुरत पाल, दिलबहादुर बोहरालगायत प्रतिवादी रहेको मुद्दामा पनि आयोगले पुनरावेदन गरेको छ ।

उनीहरूविरुद्ध आयोगले ११ लाख २६ हजार ५२८ रुपैयाँ बिगो कायम गरी विशेषमा मुद्दा दायर गरेको थियो ।

२०८० फागुन २४ गतेको विशेषको फैसलाबाट उनीहरूले सफाइ पाएपछि अख्तियारले यही असोज १३ गते सर्वोच्चमा पुनरावेदन गरेको हो ।

माथि उल्लेखितसहित आयोगले एकैदिन ७ वटा मुद्दाको पुनरावेदन गरेको हो । विशेषले गरेका फैसलामा चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका सहायक प्रवक्ता थपलियाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्