३१ जेठ २०८३, आइतबार

शोकलाई शक्तिमा बदल्ने अठोटले फेरियो एकल महिला गीताको जीवन

असोज १५, २०८१
महोत्तरी
शोकलाई शक्तिमा बदल्ने अठोटले फेरियो एकल महिला गीताको जीवन

बर्दिवास–१ की एकल महिला भद्रकुमारी फुँयाल दृढ सङ्कल्प, कामको निरन्तरता र समर्पणले मान्छेलाई कसरी सफलतामा पु-याउँछ भन्ने उदाहरण बनेकी छन् । यहाँ गीता नामले चिनिने भद्रकुमारीको मेहनत र लगनले उनको परिवारमा अभाव र गरिबी मात्रै हटेको छैन, परिवार पनि सुशिक्षित बनेको छ । 
    
एघार वर्षअघि पति खिन्तप्रसाद फुँयाल (मनोज) को आकस्मिक निधन हुँदा आफूले एक्लै उभिने र बाँच्ने सपना नै नदेखेको स्मरण गर्छिन् उनी । आफूमात्रै होइन तीन लालाबालाको दायित्व पनि एक्लैले सम्हाल्नुपर्ने भएपछि उनी निकै आत्तिएकी थिइन् । “न टेक्ने लौरो, न समाउने ठाउँ भनेजस्तै सहारा कोही थिएन”, गीताले भनिन्, “खै, कुन प्रेरणाले पो उठ्ने जाँगर दियो ! मन समालेर आँखाका आँसु पुछेँ, जुरुक्क उठेँ, मनमा तैँले केही गर्नैपर्छ भन्ने सङ्कल्प पलायो ।”

श्रीमान्को मृत्यु भएका बेला दुई छोरा र एक छोरीसहित तीन लालाबाला हुर्काउनुपर्छ भन्ने चेतले त्यसैवर्ष पूर्वपश्चिम राजमार्गको सडकपेटीमा थोरै पुँजीमा फलफूल पसल सुरु गरेको गीताले सुनाइन् । त्यही पेसा पसल आफ्नो जिउने आधार बनेको उनको भनाइ छ । 

शोकलाई शक्तिमा बदल्ने अठोट नलिए आफ्नो मात्रै होइन तीन सन्तानको भविष्य पनि अन्धकार हुने कुराले नै आफूलाई केही गर्ने जाँगर लागेको उनको कथन छ । 

आमा गीताले शोकमा गरेको सङ्कल्पबाट स्थापित व्यापारको कमाइले गीताका छोराहरूमध्ये एक जना क्यानाडा र अर्को अष्ट्रेलियामा उच्च शिक्षा लिदैछन् । छोरी काठमाडौँमा कम्प्युटर इञ्जिनियरिङ पढ्दै छिन् । “सहज जीवनयापन, छोराछोरीको राम्रो शिक्षादीक्षाको प्रबन्ध गर्नुका साथै समस्यामा परेकालाई थोरै भए सरसापट दिन पाउनु नै एउटा एकल आमाका लागि सफलता कुरा नै हो । माग्नु सबैभन्दा निरीह  कुरा रहेछ भन्ने आफ्नै भोगाइबाट बुझेकी छु, त्यसैले कोही सरसहयोगका लागि आइपुगे त्यसै फर्काउन मनले मान्दैन, केही न केही दिएर पठाउँ भन्ने लाग्छ”, उनले भनिन् । 

उनले अनाथ बालबालिका तथा सहयोगापेक्षी मानव व्यवस्थापनका लागि बर्दिवास–२ मा बन्न लागेको ‘हाम्रो मायाघर’ का लागि पाँच धुर जग्गा र रु ५१ हजार नगद सहयोग गरेकी छन् । “दिएको कुरा कसैले थाहा नपाउन् भन्छन्, मैले यति दिएँ भन्न होइन, सोचेजति सामाजिक काम अझै गर्न पाएकी छैन । पछिल्लो समय छोराछोरीको उच्च शिक्षामा लगानी गर्नुपर्दा हाल सामाजिक काममा सहयोग गर्न पाएकी छैन । अलि सहज भएमा आगामी दिनमा परोपकारका काम गर्ने निकै रहर छ”, फुँयालले आफ्नो योजना सुनाइन् ।  

बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले सङ्घर्ष र सफलताकी उदाहरण बनेकी एकल महिला फुँयालबाट अन्य महिलाले पनि प्रेरणा लिनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्