
सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत विनोद भनिने पद्मविनोद पोखरेललाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । अख्तियारले मंगलवार सर्वोच्चमा पुनरावेदन दिएको हो ।
२०८० असार २६ गते पोखरेलले घुषबापत एक लाख रुपैयाँ लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको थियो । अख्तियारले अनुसन्धान गरी साउन ३२ गते विशेषमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । तर, विशेषले प्रमाण नपुगेको भन्दै फागुन १८ गते सफाइ दिएको थियो ।
अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार घटनाको मुचुल्का र तथ्य प्रमाणको विश्लेषण नै गरी विशेषले आरोपितलाई कसूर तथा सजायबाट उन्मुक्ति दिलाउने मनसायले प्रतिवादीलाई सफाइ दिएको र उक्त फैसला त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्चमा पुनरावेदन दिइएको हो ।