
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाल सरकारले लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ पूर्ण रूपमा सचेत रहेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै हालसम्म त्यहाँ रहेका नेपाली नागरिक सुरक्षित रहेको र उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ । साथै, लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।
००००
नेपालबाट १५ जना बङ्गलादेशी नागरिक क्रोएसिया जाने तयारी गरेका बेला पक्राउ परेर छुटेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई ठमेल र सोह्रखुट्टेबाट नियन्त्रणमा लिएको थियो।
पक्राउ परेकाहरुलाई अध्यागमन विभागले सोधपुछ गरी उनीहरु बसेकै होटल सञ्चालकको जिम्मामा छोडेको छ । बंगलादेशी नागरिक नेपाल आउने र एजेन्टमार्फत भारतबाट भिसा प्रक्रिया पूरा गरेर पुनः नेपालको अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी क्रोएसिया जाने गरेको तथ्य बाहिर आएको छ ।
००००
प्रधानसेनापति अशोकराज सिग्देलले विभागीय प्रमुख र पृतनापतिसहितका सबै तहका कमाण्डरलाई उच्चस्तरीय तयारीकासाथ कार्यक्षमताको विकास गर्न निर्देशन दिएका छन् ।
पृतनापति समन्वयात्मक बैठक समापन कार्यक्रममा उनले सकलदर्जामा सामूहिक भावना र एकढिक्कापन अभिवृद्धि गर्न जोड दिए ।
००००
विगतको तुलनामा संसद् बैठकमा उपस्थित हुने क्रम केही बढे पनि संसद्प्रति अनुत्तरदायी हुने प्रवृत्ति नरोकिएको हाजिरी विवरणले देखाएको छ ।
संसद्को बजेट अधिवेशनको हाजिरी विवरण विश्लेषण गर्दा राजनीतिक दलका शीर्ष र प्रभावशाली नेताहरूले संसद् बैठकलाई महत्त्व नदिएको पाइएको हो ।
२०८१ वैशाख २८ गते शुरू भई भदौ ३१ गते सम्पन्न बजेट अधिवेशनमा ६० बैठक बसेका थिए । अधिवेशन चलेको १३० दिनमध्ये ५३ दिनमा ५६ पटक तथा संयुक्त सदनको बैठक २ पटक बसेको थियो । जेठ ४ र भदौ ३० गतेका बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।
सूचना टाँसेर स्थगित भएका समेत गरी बजेट अधिवेशनमा प्रतिनिधि सभाका ६० बैठक गणना गरी सांसदहरूलाई सोही अनुसारको भत्ता दिइएको छ । संसद्को अधिवेशन नभएको महिनामा सांसदहरूले मासिक तलब मात्र पाउँछन् ।
‘रोकिएन महिनामा १ दिन उपस्थित भएर भत्ता पचाउने प्रवृत्ति, पूरै उपस्थित हुने सांसद १४ मात्र’ शीर्षकमा लोकान्तरमा विस्तृतमा खबर छापिएको छ ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको रकम ‘उल्फाको धन फुपूको श्राद्ध’ भनेजस्तै भएको टिप्पणी गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले सहकारी ठगीको विषयमा उक्त नेपाली उखान लागू हुने बताए पनि लैंगिक हिंसाको डरले ‘फुपू’ शब्द भने उच्चारण गरेनन् ।
‘हुन त जेन्डर भाइलेन्सका कुरा आउला तर सहकारीको रकम उल्फाको धन कुन्नी कसको श्राद्ध भनेजस्तै भयो । सहकारीको पैसा कता खर्च गरेको हो, कता उडाएको हो, फिर्तै गर्न नसक्ने अवस्था पनि छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले सहकारीपीडितलाई न्याय दिलाउने विषयमा सरकार गम्भीर रहेको पनि बताए । उनले सहकारी ठगीमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउने संकेत गर्दै यस्तो बताएका हुन् ।
‘सरकार सहकारीपीडितलाई न्याय दिलाउन तत्पर छ । तर, कुन बेला कसले जम्मा गरेको रकम कहाँ पुगिसक्यो, त्यो पनि खोज्नुपर्ने छ,’ उनले सहकारीको रकम अपचलन गर्ने सहकारीका सञ्चालक, अध्यक्ष र प्रबन्ध निर्देशक लगायतप्रति इंगित गर्दै भने ।
००००
काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईंलाई ५०–५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको छ । यससँगै उनी मंगलबार धरौटी तिरेर रिहा भएका छन् ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद् व्यवस्थापनमा गरेको कमजोरीको गम्भीर समीक्षा गर्दै राहत, पुनस्र्थापना र पुनर्निर्माणको काम युद्ध स्तर अघि बढाउन आग्रह गरेका छन् ।
प्राकृतिक विपत्तिमा परेका नागरिकको लागि राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि माओवादी केन्द्रले शुरू गरेको स्वयंसेवक परिचालन अभियानको काठमाडौं बल्खुको सुकुम्बासी वस्तीमा उद्घाटन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
००००
देशैभरि बाढी पहिरोको विपत्ति चलिरहेका बेला शेयर बजार भने एकाएक उकालो लागेको छ ।
मंगलबार नेप्से १ सय १४ दशमलव ७० अंकले बढेको हो । यससँगै नेप्से २६३२ दशमलव ५६ बिन्दूमा पुगेको छ ।